अफगान राष्ट्रपतिका दुबै आकांक्षी दोश्रो चरणको चुनावको पक्षमा

मतदाता
तस्बिरको क्याप्शन, प्रतिकूल मौसम र सुरक्षा चुनौतिका माझ लाखौ मतदाताले चुनावमा भाग लिएका थिए
Published

अफगानिस्तानमा भएको राष्ट्रपतीय चुनावमा अग्रता लिएका दुईजना उम्मेदवारले सत्ता बाँडफाँड नगरी दोश्रो चुनावमा जाने बताएका छन्।

हालसम्मको नतिजा पूर्व विदेशमन्त्री अनुसार अब्दुल्लाह अब्दुल्लाहले सबैभन्दा बढी ४४.९ प्रतिशत मत पाएका छन्।

विश्व व्याङ्कका पूर्व अर्थविद् समेत रहेका पूर्व अर्थमन्त्री असरफ घानी ३१.५ प्रतिशत मतका साथ दोश्रो स्थानमा छन्।

विकल्प

निर्वाचन अधिकारीहरुका अनुसार पहिलो चुनावको अहिलेसम्मको नतिजाले कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत नल्याउने देखाएको छ।

त्यस्तो स्थितिमा सत्ता साझेदारीका निम्ति सहमति गर्नु पर्ने या दोश्रो चरणको चुनावमा जानु पर्ने विकल्पमध्ये उनीहरुले दोश्रो बाटो रोजेका हुन्।

दुई दिनअघि आउने भनिएको उक्त चुनावको पूर्ण नतिजा अब १४ मे घोषणा गरिने बताइएको छ।

काबुलबाट बीबीसीका डेभिड लोयनले बताए अनुसार, चुनावमा धाँधली भएका दावीहरु पनि सार्वजनिक भइरहेका छन्।

उनी भन्छन्, “मतपरिणाम घोषणामा भएको ढिलाईले मत गणनामा अनियमितता र मतपेटिका प्वाल पारिएका आरोपहरुलाई प्रोत्साहित गरेको छ।”

चुनौती

काबुलस्थिति बीबीसीका अर्का सम्वाददाता बिलाल सरवेइका अनुसार पहिलो चरणको चुनावी परिणाम निर्वाचन सम्बन्धी उजुरी हेर्न गठित आयोगबाट प्रमाणीकरण गराइनेछ।

५ अप्रिलमा भएको चुनावमा तालिवानको चेतावनीको वेवास्ता गर्दै खराव मौसमका माझ पनि सन् २००९ मा भएको राष्ट्रपतीय चुनावमा भन्दा दोब्बर मतदाताले भोट खसालेका थिए।

राष्ट्रपति हामिद कारजाईलाई तेश्रो कार्यकालको निम्ति उम्मेदवार हुन संविधानले रोक लगाएको थियो।

भावि राष्ट्रपतिले तालिबान हमला र यस वर्षको अन्त्यतिर विदेशी सुरक्षा फौजको सम्भावित फिर्ती लगायतका तमाम चुनौतीहरुको सामना गर्नु पर्ने छ।