पार्टीको पुनर्निर्माण सुरु: प्रचण्ड

convention
तस्बिरको क्याप्शन, विराटनगरको राष्ट्रिय सम्मेलनमा भट्टराई पक्षधर केही नेताले केन्द्रिय समितिमा बस्न अस्वीकार गरेका थिए
Published

एकीकृत माओवादीका अध्यक्ष प्रचण्डले विराटनगर सम्मेलनबाट पार्टी पुनर्निर्माणको अभियान थालनी भएको बताएका छन्।

उनले बाबुराम भट्टराई पक्षधर केही नेता केन्द्रिय समितिमा नबसेपनि पार्टीभित्र कुनै वैचारिक विवाद नरहेको दावी समेत गरे।

चर्को विवादबीच पुन: पार्टी अध्यक्षमा निर्वाचित भएको भोलिपल्ट बुधबार विराटनगरमा आयोजित एक कार्यक्रममा प्रचण्डले त्यस्तो धारणा राखेका हुन्।

उनले भने, 'नयां प्रयोगले गर्दा विराटनगर सम्मेलन ऐतिहासिक भयो। हामीबीच त्यस्तो तिक्तता पनि छैन। पार्टी पुनर्निर्माण गर्ने , सुदृढ गर्ने , जनतासंग लगेर जोडने र विचारलाई विकास गर्ने कुरामा एकमत भएर नै प्रस्तावहरु पारित गरेका छौं।'

चुनौती

सम्मेलनमा फरक मत दर्ता गरेका भट्टराईसंग आफनो कुनै वैचारिक मतभेद नभएको तर नेतृत्वमा सबैलाई समेट्न नसकेको उनले बताए।

प्रचण्डले भने, 'लाइनका हिसाबले अहिले हाम्रो विवाद होइन। केन्द्रिय समिति २ सय ६९ जनालाई ९९ भित्र ल्याएर मिलाउनुपर्ने भनेको कुरा कम चुनौतीपूर्ण छैन। त्यसैकारण अलिकति असन्तुष्टि भने देखिएकै हो ।'

भट्टराईलाई पार्टी नेतृत्व तहमा पुर्याउन विगतमा आफूले एक्लो प्रयास गरेको पनि उनले बताए।

उनले भने, 'बाबुरामजस्ता मान्छेहरुलाई कमिटिमा ल्यायो , नेतृत्वमा ल्यायो भने भोलि चाहिंधोका हुन्छ भन्ने पुराना पिढीका नेताहरु थिए । मैले बाबुरामजीजस्तो बुद्धिजीविलाई ल्याउनुपर्छ भनेर ल्याएको हो । त्यसैले पार्टी पुनर्निर्माण र सुदृढीकरणमा भट्टराईबाट मलाई सहयोग हुने विश्वास छ।'

उनले चांडै नै पार्टीभित्रका असन्तुष्ट सबै पक्षसंग बसेर विवादित र चित्त नबुझेका विषयमा छलफल गर्ने पनि बताए।