एमाओवादीमा सहमतिको प्रयास जारी

केही साता यता एकीकृत माओवादीभित्र पूर्वउपाध्यक्ष बाबुराम भट्टराई र उनी निकट नेताहरुलाई केन्द्रिय समितिमा लैजाने पार्टी अध्यक्ष प्रचण्डको प्रयास सहमति नजिक पुगेको दुबै पक्षका नेताहरुले बताएका छन्।
पार्टी केन्द्रिय कार्यालयमा भट्टराइलाई वरिष्ठ नेता बनाइनुपर्ने, केन्द्रिय समिति बिस्तार हुनुपर्ने लगायतका भट्टराई पक्षधर नेताको माग सम्बोधन गर्ने विषयमा सोमबार एकीकृत माओवादीको केन्द्रिय समितिको बैठकमा छलफल भएको थियो।
दिउँसोको छलफल सकारात्मक भएको भन्दै दुबै पक्षका नेताहरुबीच सोमबार साँझसम्म बैठक बसिरहेको थियो।
अघिल्लो महिना बिराटनगरमा भएको राष्ट्रिय सम्मेलन यता एकीकृत माओवादीभित्र आन्तरिक भागबन्डालाई लिएर प्रचण्ड र बाबुराम भट्टराईबीच छताछुल्ल रुपमा देखिएको विवाद सुल्झाउने प्रयासमा पार्टीका शिर्ष नेताहरु जुटेका हुन्।
शर्त
पूर्वउपाध्यक्ष भट्टराइले केन्द्रिय समितिमा फर्कन यसअघि पार्टी रुपान्तरणको लागि सातबुँदे शर्त अघि सारेका थिए।
तर सोमबार बिहान उनले त्यसमा अन्य केही मागहरु थप गर्दै आफूलाई पार्टीको वरिष्ठ नेता तोकिनुपर्ने अडान राखेका थिए।
भट्टराईको उक्त मागहरुबारे सोमबार केन्द्रिय समितिमा छलफल भए पनि टुंगो नलागेको र त्यसबारे मँगलबार पुन: छलफल हुने प्रचण्ड पक्षधर नेता हरिबोल गजुरेलले बताए।
उनले भने, "भट्टराईले राख्नुभएको मागहरुबारे अध्यक्षले बैठकमा बताउनुभयो। त्यसलाई सम्बोधन गर्ने विषयमा हामीले छलफल गरे पनि कुनै निर्णय भने हुनसकेको छैन। मंगलबारको बैठकले टुंगो लगाउनसक्छ।"
लचिलो
भट्टराईको मागलाई लिएर सोमबार पेरिसडाँडामा बसेको बैठक सकारात्मक रहेको भन्दै आफूहरु केन्द्रीय समितिमा जानसक्ने भट्टराई निकट नेता देवेन्द्र पौडेलले बताए।
उनले भने, "हामीले राखेका मागबारे उहाँहरुले केन्द्रिय समितिको बैठकमा छलफल भएछ। त्यसबारे प्रचण्ड र बाबुराम भट्टराई फेरि बैठकमा बसिरहनु भएको छ।"
सोमबारको छलफलले भट्टराई निकट टोपबहादुर रायमाझीलाई संसदीय दलको उपनेतामा लैजाने, कतिजना पदाधिकारीको केन्द्रिय कार्यालय बनाउनेलगायत केन्द्रिय समितिलाई विस्तार गर्न सकिने विषयमा छलफल केन्द्रित भए पनि त्यसको औपचारिक निर्णय भने मंगलबार बस्ने बैठकले गर्नसक्ने नेताहरुले बताएका छन्।





















