अर्जेन्टीनासँगै नाइजेरिया दोस्रो चरणमा

तस्बिर स्रोत, Getty
ब्राजीलमा भैरहेको विश्वकप फुटबलमा बुधवार अर्जेन्टीनासँग तीन-दुईको गोल अन्तरले हारेको नाइजेरीया समूह उपविजेताका रुपमा दोस्रो चरणमा प्रवेश गरेको छ।
इक्वेडरसँग गोलरहीत बराबरी खेल्दै फ्रान्सले समूह विजेताको रुपमा अन्तिम १६ मा आफ्नो स्थान बनायो।
होन्डुरसलाई तीन गोलले हराउँदैँ स्वीट्जरल्याण्ड पनि अघिल्लो चरणमा प्रवेश गरेको छ।
तर बोस्नीया-हर्सगोविनासँग हारेपछि एसियाली राष्ट्र इरानको दोस्रो चरणमा पुग्ने सपना तुहियो।
मेसीमय
अर्जेन्टीनी कप्तान लियोनल मेसीले सनसनीपूर्ण प्रदर्शन गरेपछि नाइजेरीया अन्तिम खेलमा हार टार्न बिफल रह्यो।
बार्सीलोनाका अग्रपङ्क्तिका खेलाडी मेसीले पहिलो गोल हानेको ८० सेकेन्ड भित्रै नाइजेरीयाका लागि एहमद मुसाले बराबरी गोल गरे।

तस्बिर स्रोत, Getty
त्यसपछी २५ यार्ड परबाट मेसीले फ्रि किक मार्फत गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाएका थिए।
तर मुसाले मध्यान्तर लगतै गोल फर्काएर अर्जेन्टीनामाथि दवाव कायम राखे ।
मार्कोस रोजोले कर्नरबाट आएको बललाई घुँडाँले छुदैँ अर्जेन्टीनाको लागि निर्णायक गोल गरे।
नौ अंक सहित समूह “एफ” को विजेता बनेको अर्जेन्टीनाले अब स्वीटजरल्याण्डसँग मंगलबार खेल्नेछ।
लय
समूह ‘इ’ को अन्तिम प्रतिष्पर्धामा फ्रान्ससँग गोलरहित बराबरी खेलेपछी दक्षिण अमेरीकी टोली इक्वेडर प्रतिष्पर्धाबाट बाहिरिएको छ।

तस्बिर स्रोत,
आफ्ना अघिल्ला खेलहरुमा होन्डुरस र स्वीट्जरल्याण्डमाथी शानदार जीत हात पारेको फ्रान्सले पुरानो लय कायम राख्न नसकेपनी बुधवार पाएको एक अंक उसलाई समूह विजेता बनाएको छ।
अब फ्रान्सले सोमबार नाइजेरीयासँग ब्रासिलियामा खेल्नेछ।
विपक्षी खेलाडी माथी फल खलेको भन्दै इक्वेडरका एन्टोनीयो भ्यालेन्सीयालाई रेफ्रीले रातो कार्ड देखाएर मैदानबाहिर पठाएका थिए।
संगठीत खेल प्रदर्शन गरेपनी अन्तीम प्रहारलाई जाली चुमाउन फ्रान्सेली अग्रपङ्क्ती असमर्थ देखिएको थियो।
ह्याट्रीक
जर्मन क्लब बायर्न म्युनिखबाट खेल्दै आएका जेरदान स्याचएरीले ह्याट्रीक गरेपछी स्वीट्जरल्याण्डले होन्डुरसलाई हरायो।
युरोपेली टोलीका लागी खेलको सुरुवातमा स्याचएरीले २५ यार्ड परबाट गोल गरेका थिए त्यसपछी योसिप डुरमिचको दुइवटा पासलाई उनले गोलपोष्टको दिशा दिए।

तस्बिर स्रोत, Getty
तीनवटै खेल हारेपछि होन्डुरस आफ्नो समूहको पुच्छारमा रहेको छ।
जेरी बेन्गसनले होन्डुरसका लागि गोल गर्ने अवसर पाएका थिए तर उनको प्रयासलाई स्विस रक्षापङ्क्तीका खेलाडीले विफल पारे।
पराजय लगतै होन्डुरसका प्रशिक्षक लुइस फरनान्डो सुवारेजले राजीनामा दिदैँ टोलीको लाभको लागि सो फेरबदल आवश्यक रहेको बताएका छन्।

तस्बिर स्रोत, BBC World Service
होन्डुरसले कम्तिमा ६ वटा सुनौला मौकाहरु गुमाएको बीबीसीका स्टीभ क्लारिज्डको विश्लेषण छ।
बहिर्गमन
समूह'एफ'को अर्को खेलमा प्रतियोगिताबाट बाहिरीइ सकेको बोस्नीया-हर्सगोविनासँग पराजित हुदैँ इरान घर फर्कन बाध्य भयो।
फराकिलो अन्तरको निश्चित जीतको आशामा उत्रीएको इरानी टोलीलाई बोस्नीया-हर्सगोविनाले तीन-एक गोल अन्तरले हरायो।
पहिलो पटक विश्वकपमा सहभागी बोस्नीयाले ब्रजीलमा हात पारेको पहिलो जीतले टोलीलाई सन्तुष्ट हुने ठाउँ दिएको छ।





















