विश्वकपमा आज: १९ औं दिनको खेल तथा अनुमान

तस्बिर स्रोत, AP
थुप्रै अल्जेरियालीहरुको मनमा बदलाको भावना हुनुपर्छ। विश्वकप इतिहासको एउटा धमिलो घटनाका लागि जर्मनीलाई कडा जवाफ दिनुपर्छ भन्ने सोच उक्त उत्तर अफ्रीकी टोलीले राखेको हुनसक्छ।
सन् १९८२ मा स्पेनमा भएको विश्वकपमा विवादास्पद परिघटनाका माझ अल्जेरिया खेलबाट बाहिरिएको थियो।
तत्कालीन पश्चिम जर्मनीले अष्ट्रीयालाई समुह चरणको अन्तिम खेलमा १-० ले पराजीत गरेपछिति दुवै टोली अगाडी बढेका थिए भने अल्जेरिया घर फर्कनु परेको थियो। उक्त खेललाई विश्वकप इतिहासमा एउटा नराम्रो मिलोमतोको खेलका रुपमा लिने गरिन्छ।
अब ३२ बर्ष पछि अल्जेरियाको जर्मनीसंग भिडन्त हुंदैछ र त्यो पनि इतिहास निर्माण गर्न सकिने गरी।
सन् २०१४ को विश्वकपमा सबैभन्दा पहिलो पल्ट एक भन्दा बढी अफ्रीकी देशहरुले समूह चरण पार गर्न सफल भएका छन्।
र आज सोमबारको अर्को खेलमा नाइजेरियाले फ्रान्सको सामना गर्दैछ। विश्वकप २०१४ को १९ औं दिनको खेलहरुका बारे बीबीसीका फुटबलविज्ञ मार्क लरेन्सनको विश्लेषण:

तस्बिर स्रोत, AP
फ्रान्स र नाइजेरिया
“आजको खेल फ्रान्सले यो विश्वकपमा भोग्नु पर्ने सबैभन्दा ठूलो परीक्षमा मध्येको एक हो।
"तर समूह चरणका खेलहरु सजीलै पार गरेकाले तिनीहरु अहिले पनि राम्रो अवस्थामा छन्।“
“फ्रान्सले धेरै गोलहरु गरेको छ तर नाइजेरियाले आफूहरु कतिको खतरनाक हो भनेर अर्जेन्टीनासंगको खेलमा राम्ररी देखाइसकेका छन्।“

तस्बिर स्रोत, AFP
“नाइजेरियाको खेल सिधा छ र तिनीहरु पूरा जोड लगाएर खेल्छन् तर तिनीहरुमा स्थायीत्व र एकरुपता देखिएको छैन।“
जर्मनी र अल्जेरिया
“जर्मनीको टोली यसपटक निकै बलियो छ र तिनीहरुसंग खेलको दिशा नै परिवर्तन गर्न सक्ने खालका खेलाडीहरु छन्।“
“अल्जेरियाले खेलको यो चरणसम्म आइपुग्न राम्रो खेल खेलेको छ।
"नक आउट चरणमा पुग्नका लागि रुससंगको खेल बराबरी गर्दा तिनीहरुले जुन ढंगले खुशीयाली मनाए त्यो सबैले देखेकै कुरा हो।“
“तिनीहरुले जर्मनीलाई हराउलान् भनेर विचार गर्न त सकिंदैन तर तिनीहरुले त्यस्तो प्रयास भने निश्चय नै गर्ने छन् र सुसंयोजीत खेल खेल्नेछन्।“

तस्बिर स्रोत, Getty
ध्यान दिनु पर्ने खेलाडी
सोमबार ब्राजीलको पोर्टो एलेग्रे शहरमा नयां इतिहासको निर्माण हुन सक्छ।
जर्मनीका फर्वार्ड मिरोस्लाभ क्लोज ब्राजीलका नायक रोनाल्डो जतिकै विश्वकपमा १५ गोल गरेको अवस्थामा छन्।
र आजको खेलको ति ३६ बर्षे खेलाडीका लागि त्यो रेकर्ड तोड्ने लगभग अन्तिम अवसर हुन सक्छ। क्लोजले खेलेका यो चौथो विश्वकप हो।
सन् २००२ र २००६ मा दुवै पटक उनले पांच पांच गोल गरेका थिए भने सन् २०१० मा दक्षिण अफ्रीकामा चार गोल गरेका थिए।
जर्मनीले पोर्चुगललाई ४-० ले पराजीत गरेका बेला क्लोजको प्रयोग गरिएको थिएन। तर उनी जर्मनीका अन्तिम दुई खेलमा भने खेलेका थिए।
क्लोज जर्मनीको स्क्वायडमा रहेका सबैभन्दा उमेरदार खेलाडी हुन् तर जब टोलीलाई गोलको आवश्यकता पर्छ उनी माथि नै भर पर्ने गरिन्छ।

तस्बिर स्रोत, REUTERS
आजको खेलमा पनि उनले निर्णायक भूमिका खेल्न सक्नेछन्।





















