ब्राजील र जर्मनी सेमी फाइनलमा

तस्बिर स्रोत, Getty
घरेलु मैदानमा खेलेको ४१ खेलको अपराजित यात्रालाई कायम राख्दै विश्वकप खेल आयोजक राष्ट्र ब्राजील सेमीफाइनलमा प्रवेश गरेको छ।
जर्मनीले भने लगातार चौथो पटक विश्वकपको अन्तिम ४ मा पुग्ने कीर्तिमान रच्न फ्रान्सलाई १-० ले हराएको थियो।
एक तनावपुर्ण खेलमा कोलम्वियालाई २-१ ले हराउँदै ब्राजीलले अन्तिम ४ मा स्थान बनाएको हो।
खेलको शुरुवातमा नै अग्रता लिएको जर्मनीले त्यही गोललाई अन्तिम समयसम्म जोगाएको थियो।
यी दुई टोलीको सेमिफाइनलमा आगामी मंगलबार रातीभेट हुनेछ।
नेयमारको चोट
इस्टाडियो कास्टेलो रंगशालामा जम्मा भएका ६० हजार भन्दा वढी पहेलो रंगको जर्सी लगाएका दर्शकहरु र त्यस बाहिरका लाखौं ब्राजीलीहरु आफ्नो टोली विश्वकपको अन्तिम चारमा प्रवेश गरेको खुशी मनाउनमा ब्यस्त थिए, तर उनीहरुको खुशीमा दुखका केही अंशहरु मिसिएका थिए ।
तनावका बीच सम्पन्न भएको खेलमा ५४ प्रतिशत खेल फाउल खेलिएको थियो, जसमा ब्राजीलका चर्चित खेलाडी नेयमारले अन्तिम समयमा चोट बोक्दै मैदान छोड्नु परेको थियो ।
टिम डाक्टर रोड्रिगो लासमारले ब्राजीली स्पोर्ट टीभीलाई भने – दुर्भाग्यवश अव उनी अव खेलमा उपलब्ध हुने छैनन्। तर यसको अर्थ उनलाई निकै गम्भिर चोट लागेको भने होइन। उनलाई आराम जरुरी छ।
क्याप्टेन बाहिरिए
नेयमारको उपचार भएको हस्पिटल बाहिर थुप्रै समर्थकहरु जम्मा भएका थिए। समर्थकका लागि अर्को दुखको खवर के थियो भने ब्राजीली क्याप्टेन थियगो सिल्भाले पनि सेमिफाइनल खेल्न पाउने छैनन्। उनले दुइपटक पंहेलो कार्ड पाएका छन्।

तस्बिर स्रोत, AFP

तस्बिर स्रोत, Getty

क्याप्टेन सिल्भाले खेल शुरु भएको सातौं मिनेटमा गोल गरी ब्राजीललाई अग्रता दिलाएका थिए भने ६८ औं मिनेटमा डेभिड लुइजले फ्रि किकमा शानदार गोल गरेर आयोजकलाई सहज जीततिर डोहोर्याएका थिए।
तर कोलम्वियाका जेम्स रोड्रिगुइजले खेल सकिनु १० मिनेट अगाडि पेनाल्टीमा गोल गरेर खेलमा फर्किने प्रयास गरेपछि खेलको अन्त्यतिर तनाव निकै वढेको थियो।
रोड्रिगुइज जारी विश्वकपमा ६ गोल गर्दै सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा अग्रस्थानमा कायम रहेका छन्।
कोलम्वियाले ब्राजीलसंग खेलेको २६ खेलमा २ खेलमा मात्र जित्न सकेको छ भने ब्राजीलमा गएर अहिलेसम्म कुनै खेल जित्न सकेको छैन।
किर्तिमान
ब्राजीलले भने सन् २००२ को अगस्टमा पाराग्वेसंग हारेपछि खेलेको ४१ खेलमा घरमा खेलेको खेलमा हार ब्यहोरेको छैन।
जर्मनीले पहिलो खेलमा फ्रान्सलाई हराउदैं लगातार चौथो पटक विश्वकपको अन्तिम चारमा पुग्ने कीर्तिमान समेत बनायो।
मारकाना रंगशालामा भएको सो खेलमा जर्मनीका म्याट हुमेल्सले खेलको १२ औं मिनेटमा गरेको एकमात्र गोलले नै खेलको निर्णय भएको थियो। दुई युरोपेली राष्ट्र विचको सो भीडन्तमा त्यसपछि जर्मनीले रक्षात्मक नीति लिएको थियो र जम्मा २ पटकमात्र विपक्षी पोस्टमा आक्रमण गरेको थियो।
लिग चरणमा प्रभावकारी देखिएको फ्रान्सले त्यसपछि लगातार प्रयास गरेपनि सफल हुन सकेन।





















