'कोबाने आइएस नियन्त्रणमा जाने खतरा'

तस्बिर स्रोत,
टर्कीका राष्ट्रपतिले आफ्नो सीमा नजिकै रहेको सिरियाली शहर कोबाने इस्लामिक स्टेट लडाकुहरुको नियन्त्रणमा जाने खतरा रहेको चेतावनी दिएका छन्।
कोबानेमा मंगलबार अमेरिकिीनेतृत्वको गठबन्धनले थप हवाइ हमलाहरु गरेको छ।
तर राष्ट्रपति रेजेप तैइप एर्दोआनले भने, हवाइ हमलाले मात्रै इस्लामिक स्टेट लडाकुहरुलाई पराजीत गर्न सकिनेछैन।
उक्त शहर कब्जा गर्न अघि बढेका इस्लामिक स्टेट विद्रोहीहरुलाई कुर्द लडाकुहरुले रोक्ने कोसिस गरिरहेका छन्।
गोलाबारी
शहरको बाहिरी भागसम्म विद्रोहीहरु आइपुगिसकेको र उनीहरुले लगातार गोलाबारी गरिरहेको बताइएको छ।
अमेरिकी नेतृत्वको हवाइ हमला जारी रहँदा आइएस विद्रोही तथा सिरियाली कुर्द लडाकहरुबीचको लडाईं कोबाने शहरमा चर्किएको हो।
आइएसले सोमबार शहरको तीन जिल्ला कब्जा गरेको थियो।
सोमबारको तुलनामा मंगलबारको लडाईं केही मत्थर भएको बताइन्छ।
तर प्रत्यक्षदर्शीहरुले ठूल्ठूला विष्फोटका आवाज सहित धुवाँका मुस्लो उडिरहेको देखेको बताएका छन्।
पछिल्ला समयमा खासगरी कुर्द समुदायका मानिस सहित डेढ लाखभन्दा धेरै सिरियालीले कोबाने नगर त्यागेका छन्।
नियन्त्रण
यदि आइएसले कोबाने नगर कब्जा ग-यो भने उक्त विद्रोही समूहले सिरिया-टर्की सीमाको लामो क्षेत्रमा नियन्त्रण जमाउनेछ।
तर विश्लेषकहरु भन्छन्, उक्त क्षेत्रको शक्ति राष्ट्र भइकन पनि कोबाने कसैगरी आइएसको हातमा नपरोस् भन्ने चाहँदा चाहँदै टर्कीको सरकार त्यहाँ सैनिक हस्तक्षेप गर्न अनिच्छुक देखिन्छ।
सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स नामक मानव अधिकारवादी संस्थाn] कोबानेमा गएको तीन साता यता चलेको लडाईंमा परी चार सय जनाको ज्यान गइसकेको जनाएको छ।





















