आइएस विरुद्ध टर्कीको कारबाही अब्यवहारिक हुने

तस्बिर स्रोत, REUTERS
टर्कीका विदेश मन्त्री मेभलुत क्याभुसोग्लुले भनेका छन्, सिरियामा इस्लामिक स्टेट विद्रोहीहरु विरुद्ध टर्कीले एक्लै स्थलगत सैनिक कारवाही गर्ला भन्ने अपेक्षा राखिनु ब्यवहारिक कुरा होइन।
सिरियाली शहर कोबानीमा विद्रोहीहरुको कडा हमलामा परेका कुर्दहरुलाई सहयोग गर्न टर्कीले कदम नचालेको भनी आलोचना भएपछि उनले त्यस्तो प्रतिक्रिया दिएका हुन्।
राजधानी अंकारामा उत्तर एटलान्टिक सन्धी संगठनका नवनियुक्त महासचिव जेन्स स्टोल्टेनबर्गसंगको छलफल पश्चात मन्त्री क्याभुसोग्लुले टर्कीको सिरियासँग जोडिएको सीमा क्षेत्रमा उडान निषेधित क्षेत्र निर्धारण गर्नुपर्ने बताए।
उनले अमेरिकी नेतृत्वको गठबन्धनले स्थलगत सेना परिचालन गर्नुपर्ने र सिरियाका राष्ट्रपति असादलाई समेत हटाउनुपर्ने धारणा राखेका छन्।
दबाब
रणनीतिक महत्वको शहर कोबानीलाई विद्रोहीहरुको हातमा पर्नबाट रोक्न टर्कीले थप कदम चालोस् भनेर ऊ माथि चर्को दबाब परेको छ।
यसबीच सो शहरमा हमला गरिरहेका विद्रोहीहरुलाई लक्षित गरी अमेरिकी नेतृत्वमा हवाई आक्रमणहरु जारी रहेको छ।
अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले उक्त शहर विद्रोहीबाट जोगाउन भरसक कोशिश जारी रहेको बताएको छ।
तर अमेरिकी सेनाका वरिष्ठतम अधिकृत जोइन्ट चीफ्स अफ स्टाफ्सका अध्यक्ष जेनरल मार्टन डेम्पसेले विद्रोहीहरुले हवाई हमलाबाट बच्ने उपायहरु सिक्न थालेको बताए।
बुधबार विद्रोहीहरुले भारी आक्रमण गरेपनि अझैसम्म शहर कुर्द लडाकूहरुकै नियन्त्रणमा रहेको अमेरिकि सेनाको विश्वास छ।





















