‘इबोला एचआइभी/एड्स पछिको ठूलो रोग’

सियरा लियोनका राष्ट्रपति अर्नेस्ट बाइ कोरोमाले इबोला भाइरसविरुद्ध लड्नका लागि तत्काल सहयोग आवश्यक रहेको बताएका छन्
तस्बिरको क्याप्शन, सियरा लियोनका राष्ट्रपति अर्नेस्ट बाइ कोरोमाले इबोला भाइरसविरुद्ध लड्नका लागि तत्काल सहयोग आवश्यक रहेको बताएका छन्
Published

पश्चिम अफ्रिकामा अहिले देखिएको इबोला भाइरसको संक्रमण एचआइभी/एड्स पछि कहिल्यै नदेखिएको रोग भएको एकजना उच्च अमेरिकी स्वास्थ्य अधिकारीले बताएका छन्।

अमेरिकाको सेन्टर्स फर डिसिज कन्ट्रोल एन्ड प्रिभेन्सनका निर्देशक थोमस फ्राइडेनले विश्वव्यापी चालिने कदमले उक्त भाइरस अर्को एचआइभी/एड्स जस्तो नहुने सुनिश्चित गर्न सक्ने बताए।

वासिङ्गटनमा एउटा बैठकमा फ्राइडेनले इबोला भाइरस आफ्नो कार्यकालमा देखिएको ठूला संकटहरुमध्ये एक भएको बताए।

जनस्वास्थ्यको क्षेत्रमा आफू ३० वर्षदेखि काम गर्दै आएकोमा यस्तो प्रकृतिको संकट एचआइभी/एड्स भएको उनको भनाई थियो।

अपील

इबोला भाइरसबाट सबैभन्दा नराम्री प्रभावित लाइबेरिया, सियरा लियोन र गिनिका राष्ट्रपतिले उक्त महामारीसँग जुझ्नका निम्ति सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायलाई एकसाथ अपील गरेका छन्।

सियरा लियोनका राष्ट्रपति अर्नेस्ट बाइ कोरोमाले भने, “सियरा लियोनमा यो भाइरससँग जुझ्नका लागि कार्यक्षेत्रमा तत्काल सहयोग चाहिएको छ। तपाईहरु बिना हामी सफल हुन सक्दैनौं।”

कोरोमाले आफ्ना मानिसहरु मरिरहेको भन्दै विश्व समुदायले तीव्र गतिमा कदम नचालेको बताए।

उनले थुप्रै बालबालिकाहरु टुहुरा हुन उल्लेख गरे।

इबोला संक्रमितहरुको उपचार गर्दै आएका एक जना लाइबेरियाली डाक्टरको मोनरोभियास्थित एउटा उपचार केन्द्रमा बिहिबार मृत्यु भएको स्वास्थ्य अधिकारीहरुले बताएका छन्।

स्वास्थ्यकर्मी

युगाण्डामा जन्मिएका डाक्टर ताबान डाडा जन एफ केनेडि मेमोरियल सेन्टरमा काम गर्दै आएका थिए।

योसँगै लाइबेरियामा इबोला भाइरसका कारण मृत्यु हुने चिकित्सकहरुको संख्या चार पुगेको अधिकारीहरुले बताएका छन्।

इबोला भाइरसबाट पश्चिम अफ्रिकाका हालसम्म ३ हजार ८ सय ६० जनाको मृत्यु भएको बताइएको छ।

तीमध्ये दुई सयभन्दा बढी स्वास्थ्यकर्मीहरु रहेको बताइएको छ।