‘बुर्किना फासोको संसदमा आगजनी’

बुर्किना फासोको घटनाक्रमले आफुहरुलाई चिन्तित बनाएको पश्चिमा मुलुकहरुको भनाई छ
तस्बिरको क्याप्शन, बुर्किना फासोको घटनाक्रमले आफुहरुलाई चिन्तित बनाएको पश्चिमा मुलुकहरुको भनाई छ
Published

पश्चिम अफ्रिकि देश बुर्किना फासोमा हुन लागेको एक विवादास्पद मतदान अगाडि चर्किएको विरोध प्रदर्शनका माझ, प्रदर्शनकारीहरुले राजधानी वागाडुगुस्थित संसद भवनमा आगो लगाइदिएका छन्।

सत्ताइस वर्षदेखि सत्तामा रहेका राष्ट्रपति ब्लेज कोंग पाओरे ले अझै आफ्नो कार्यकाल लम्ब्याउन थालेको प्रयासबाट ती प्रदर्शनकारीहरु क्रुद्ध बनेका हुन्।

आइतबार त्यहाँको संसदमा राष्ट्रपति कोंग पाओरे लाई आगामी वर्ष हुने चुनावमा पुन: उम्मेदवार हुने बाटो खोल्न, संविधानमा आवश्यक परिवर्तन गर्ने बारे, मतदान गर्न लागिएपछि विरोध प्रदर्शनहरु चर्कएका हुन्।

प्रदर्शनकारीहरुले संसद भवनमा आगो लगाइदिए लगत्तै सरकारी टेलिभिजनको प्रसारण रोकिएको छ।

भींड राष्ट्रपति भवन तर्फ लम्किएको छ भने सुरक्षाकर्मीहरुले गोली चलाएका छन्। हेलिकप्टरमार्फत सुरक्षाफौजले भींडमाथि अश्रु ग्यास प्रहार गरेको बताइएको छ। सैनिकहरु तथा एक पूर्व रक्षा मन्त्रीले सडकमा प्रदर्शनकारीहरुको साथ दिएको बताइएको छ।

विरोध

राष्ट्रपतिले ट्विटरमार्फत शान्तिको निम्ति अपील गरेका छन्। राजधानीस्थित बीबीसी सम्वाददाताका अनुसार राष्ट्रपतिले देश छाडेको हल्ला चलेको छ।

सरकारले आइतबारको मतदान रोकेको छ।

सो शहरमा रहेका एक बीबीसी सम्वाददाता भन्छन्, प्रदर्शनकारीहरुले नगरको सभाहल तथा सत्ताधारी दलको मुख्यालयमापनि आगो लगाइदिएका छन्।

विपक्षीहरुले नागरिक अवज्ञाको अभियानको घोषणा गरेका छन्। उनीहरुले राष्ट्रपतिलाई आगामी वर्षको चुनावताका सत्ता छाड्न भनेका छन्।

राष्ट्रपति कोंग पाओरे अमेरिका तथा फ्रान्सका निकट मानिन्छन् जसले साहेल क्षेत्रमा सकृय इस्लामवादी विद्रोहीहरु विरुद्धको सैनिक कारवाहीका निम्ति बुर्किना फासोलाई आधार बनाएको छ।

तर राष्ट्रपतिको संविधानमा परिवर्तन गर्ने प्रयासको फ्रान्स तथा यूरोपेली युनियनले विरोध गरेका छन्।