'माघ ८ मा संविधान ल्याउन अप्ठ्यारो'

सार्क सम्मेलनअघि सहमति कायम गर्ने संकेत नदेखिएको भन्दै संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले माघ ८ गतेभित्र संविधान जारी गर्न अब जटिल हुने बताएका छन्।
संविधानसभाको संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिमा कायम गतिरोध आईतबार पनि अन्त्य नभएपछि नेम्वाङको पछिल्लो भनाई आएको हो।
दलहरुबीच विवादित विषयहरु संविधानसभामा प्रस्तुत गर्ने भन्नेबारे सहमति नजुटेपछि सम्वाद समितिको बैठक समय नतोकी स्थगित गरिएको छ।
जटिल
शनिबार प्रमुख तीन दलका नेताहरुबीच सबै प्रस्तावहरु संविधानसभामा लैजाने सहमति भएको भन्दै आईतबार संवाद समितिको बैठक बोलाईएको थियो।
तर सत्तापक्षीय र विपक्षी दलहरु सहमति जुटे-नजुटेको बारेमा आरोप-प्रत्यारोपमा उत्रिएपछि सम्वाद समितिको बैठक नै बस्न सकेन।
दलहरुबीचको पछिल्लो संवादहीनता तोड्न आफू सक्रिय भएकोले सम्वाद समितिको बैठक फेरि पनि अवरुद्ध हुँदा आफू दुःखी भएको संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले बताए।
उनले भने, “अहिले दलहरुले विषयलाई सहमति गर्ने प्रक्रिया समेत सुरु गरेको नदेख्दा स्थिति निकै जटिल बनेको छ। यदि दलहरुले विषयमा सहमति गरेनन् भने माघ ८ गते संविधान जारी गर्न निकै अप्ठ्यारो भईसकेको अवस्था छ।”
आशंका
यसअघि सभामुख नेम्वाङले सार्क शिखर सम्मेलनअघि विवादित विषयमा दलहरुले सहमति जुटाए संविधानसभाको आन्तरिक कार्यतालिकामा केही परिमार्जन गरेर भएपनि माघ ८ गते संविधान जारी गर्न सकिने बताएका थिए।
तर अब सार्क सम्मेलन नसकेसम्म सहमति कायम गर्ने जिम्मा पाएको सम्वाद समितिकै बैठक नबस्ने भएको छ।
समितिका सभापति बाबुराम भट्टराईले भने, “फेरि सहमति हुने जस्तो अवस्था देखा परेन। अब सार्क सम्मेलन पनि आयो। त्यसो हुनाले केपी ओलीजी आफैले सहमति जति बेला हुन्छ त्यति बेला बैठक राख्नुहोला भनेर जानु भयो। बैठक हामीले रोकेका छौं।”
समय घर्किदै जाँदा दलहरु माघ ८ गतेको समयसीमाभित्र संविधानको पहिलो मस्यौदा तयार गर्न समेत विफल हुने हुन् कि भन्ने आशंका पनि व्यक्त गर्न थालिएको छ।





















