दोस्रा बन्धकबारे अमेरिका ‘अनभिज्ञ’

तस्बिर स्रोत, EPA
यमनमा अल कायदा विद्रोहीहरुले बन्धक बनाएका अमेरिकी पत्रकार ल्यूक सोमर्सलाई उद्वार गर्न गरिएको विफल कारवाहीका बेला अमेरिकी विशेष फौजलाई अर्का बन्धकको पहिचानबारे जानकारी नभएको एक वरिष्ठ अमेरिकी अधिकारीले बीबीसीलाई बताएका छन्।
दक्षिण अफ्रिकी शिक्षक पियरे कोर्कीइ काम गर्ने परोपकारी संस्था गिफ्ट अफ द गिभर्सका अनुसार फिरौतिबारेको छलफलपश्चात उनलाई आईतबार छाडिने तयारी भइरहेको थियो।
उद्वार कारवाही कै बखत ती दुवै जना तिनलाई बन्दी बनाउनेहरुकै गोली लागि घाइते भएका थिए। सुरक्षित स्थलतर्फ लाने क्रममै उनीहरुको मृत्यु भएको थियो।
आलोचना
अमेरिकी पत्रकार सोमर्सको जीवन खतरामा परेको भन्दै अमेरिकी सरकारले उद्वार कारवाही गरेको थियो।
तर कोर्कीइ काम गर्ने परोपकारी संस्थाका अन्य कार्यकर्ताहरुले भने अमेरिकी कारवाहीको आलोचना गरेका छन्।
अमेरिकी प्रशासनका एक उच्च अधिकारीले वाशिंगटनस्थित बीबीसीका टम एसलमन्टलाई उद्वारकर्ताहरुसंग कोर्किई पनि सोमर्ससंगै रहेको भन्ने जानकारी नरहेको बताए।
यमनको दक्षिणी क्षेत्रमा मानवरहित विमान ड्रोनमार्फत हमला गरेपछि ४० जनाको विशेष टुकडीले उद्वार कारवाही गरेको थाहा भएको छ।
तर जब विद्रोहीहरु रहेको स्थलनिर उनीहरुले तिनलाई देखे त्यसपछि गोली हानाहान भयो। त्यतिनै खेर एक विद्रोही कम्पाउन्ड भित्र छिरेको र त्यति नै बेला बन्धकहरुलाई गोली हानिएको ठानिएको छ।





















