'चीनसँगको बिप्पाले व्यापार घाटा कम हुने'

लगानी प्रवर्द्धन तथा संरक्षण सम्झौता (बिप्पा) को परिमार्जित मस्यौदा पठाएको नेपाल सरकारले सम्झौतापछि उत्तरी छिमेकी चीनसँगको बेहोर्दै आएको ठूलो व्यापार घाटा कम पार्न सकिने आशा लिएको छ।
चीन सरकारले २०६८ सालमा पठाएको मस्यौदाको जवाफ उद्योग मन्त्रालयले हालै पठाएको हो।
यसअघि नेपालले अर्को छिमेकी देश भारतसँग बिप्पा सम्झौता गरीसकेको छ।
भारतसँग द्विपक्षीय लगानी सम्झौता वा बिप्पा गरिसकेको नेपालले अब उत्तरी छिमेकी चीनसँग पनि त्यस्तै किसिमको सम्झौता गर्ने मनसायसहित परिमार्जित मस्यौदा बेइजिङ्ग पठाएको छ।
पत्राचार
बिप्पाका लागि परराष्ट्रमन्त्रालयमार्फत बिहीबार चीन सरकारलार्इ पत्राचार गरिएको उद्योगमन्त्री महेश बस्नेतले बताए।
उक्त सम्झौता भएपछि उत्तरी छिमेकी चीनसँग रहेको नेपालको करिब ६५ अर्बको रुपैयाँ वार्षिक व्यापार घाटामा उल्लेख्य रुपमा कमी आउने सरकारको विश्वास छ।
उद्योगमन्त्री बस्नेतले भने, “भारत र चीनको तर्फबाट निकै ठूलो लगानीहरु नेपालमा भित्रिरहेको सन्दर्भमा बिप्पा सम्झौता नेपालको व्यापार घाटा कम गर्नका निम्ति एउटा कोशेढुङगा नै साबित हुन्छ भन्ने लाग्छ।”
परिमार्जन
उद्योगमन्त्रालयका अनुसार चीन सरकारले २०६८ सालको मंसिरमा बिप्पाका लागि मस्यौदा पठाएको थियो ।
हालसालै भारतसँग गरिएको बिप्पाको मोडेलमा नै चीन सरकारले पठाएको मस्यौदालाई परिमार्जन गरी नेपालले पठाएको र त्यसको जवाफ आएपछि छिट्टै सम्झौता हुने मन्त्री बस्नेतले बताए।
उनले भने, “चिनबाट प्रस्ताव आउदा साथै हामी यसलाई रोक्ने पक्षमा छैनौ त्रिब्र गतिमा यसलाई अगाढी बढाउछौ।”
यसअघि नेपालले बेलायत, फिनल्याण्ड, मोरिसस, भारत लगायत ६ वटा देशसँग बिप्पा गरिसकेको छ।





















