पार्टी एकताको लागि प्रचण्डको अपिल

एकिकृत माओवादीभित्र नेतृत्व हस्तान्तरणबारे अध्यक्ष प्रचण्ड र नेता भट्टराइबीच भद्र सहमति भएको बताइन्छ
तस्बिरको क्याप्शन, एकिकृत माओवादीभित्र नेतृत्व हस्तान्तरणबारे अध्यक्ष प्रचण्ड र नेता भट्टराइबीच भद्र सहमति भएको बताइन्छ
Published

एकिकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले मोहन वैद्य नेतृत्वको माओवादीसंग एकता गर्ने प्रस्ताव केन्द्रिय समिति बैठकमा पेश गरेका छन्।

पार्टीभित्र नेतृत्वलाई लिएर अन्तरसंघर्ष चर्किएको भनिएको बेला प्रचण्डले अर्को वर्ष माघमा विशेष महाधिवेशन गर्ने प्रस्ताब राखेका छन्।

त्यस्तै प्रचण्डले माघ ८ अघि राष्ट्रिय सरकारमा नभइ संविधानका विवादित विषयमा सहमति खोज्नै पार्टीको ध्यान केन्द्रित हुनुपर्ने राय राखेको उपस्थित नेताहरुले बताएका छन्।

समितिको पूर्ण बैठकमा अध्यक्ष प्रचण्डले आफ्नो राजनितिक प्रतिवेदन प्रस्तुत गर्दै एकीकृत माओवादीबाट विभिन्न समयमा अलग्गिँदै गएका पार्टीहरुको समिक्षा गर्दै उनीहरुलाई अब एकताबद्ध गर्न पहल गर्नुपर्ने बताएका थिए।

एकता प्रयास

प्रचण्डले प्रस्तुत गरेको प्रस्तावबारे उनी निकट मानिने नेता हरिबोल गजुरेलले भने, "पार्टी एकतालाई कसरी कायम गर्ने र हामीबाट अलग्गिएका माओवादी आन्दोलनमा भएकाहरुलाई समेटेर एकताबद्ध कसरी गर्ने भन्नेमा बैठक मुल रुपमा केन्द्रित थियो।"

तर बैठक माउ पार्टीबाट अलग्गिएकालाई एकत्रित गर्नेमा केन्द्रित भए पनि संविधानसभाबाट संविधानै बनाउन नहुने भन्दै गोलमेच सम्मेलनको पक्षमा रहेको बैद्य माओवादीसंगको एकताको पहल माघ ८ अघि सम्भव नहुने निचोडमा पुगेको बताइएको छ।

आइतबारको बैठकमा प्रचण्डले अहिलेको केन्द्रिय समितिलाई अधिवेशन आयोजक समितिमा रुपान्तरण गर्ने प्रस्ताव अघि सारेका छन्।

उनले विशेष महाधिवेशन २०७२ सालको माघ तेस्रो साता गर्ने गरि प्रस्ताव गरेका छन्।

हेटौंडाको महाधिवेशनदेखि गत बैशाखमा विराटनगरमा भएको पार्टीको राष्ट्रिय सम्मेलनसम्ममा पार्टी नेतृत्व वर्षौंदेखि एकै व्यक्तिको हातमा रहँदै आएको भन्दै नेता बाबुराम भट्टराईले असन्तुष्टी पोख्दै कतिपय जिल्लामा समानान्तर बैठकसमेत गरेका थिए।

पछिल्ला दिनहरुमा दुई नेताबीच नेतृत्व हस्तान्तरणबारे सकारात्मक छलफल भएको भनिएको बेला अध्यक्षले अर्को साल विशेष महाधिवेशन प्रस्ताव गरेका हुन्।