ब्रिटिश राजदूतको धारणाप्रति परराष्ट्रको आपत्ति

ब्रिटिश राजदूत एन्ड्रयु जेम्स् स्पार्क्सले धर्म परिवर्तनको अधिकारबारे राखेको धारणाप्रति आपत्ति जनाउँदै परराष्ट्र मन्त्रालयले नेपालस्थित उच्च ब्रिटिश अधिकारीलाई बोलाएर अबका दिनमा त्यस्तो अभिव्यक्त नदिन सचेत गराएको छ।
संविधान निर्माणको संवेदनशील अवस्थामा ब्रिटिश राजदूतले हालै प्रकाशित आफ्नो लेखमा गरेको धर्मपरिवर्तनबारेको टिप्पणी अनावश्यक भन्दै मन्त्रालयले उक्त अभिव्यक्तिको नकारात्मक प्रभाव पर्न सक्ने बताएको छ।
ब्रिटिश विदेश मन्त्रालयले भने उक्त लेख संविधान लेखनलाई चुनौती दिन र धार्मिक अभिव्यक्ति दिने आशयले नगरिएको भन्दै राजदूतको बचाउ गरेको छ।
गत डिसेम्बर १० का दिन एउटा अंग्रेजी दैनिकमा छापिएको आफ्नो लेखमा ब्रिटिश राजदूत स्पार्क्सले नयाँ संविधानमा धर्म परिवर्तनको अधिकार सुनिश्चित गर्न आफूहरुले सभासदहरुलाई प्रोत्साहन गर्ने उल्लेख गरेका थिए।
प्रतिक्रिया
उक्त लेखको व्यापक आलोचना सभासदहरुबाटै हुन थालेपछि त्यसबारे परराष्ट्र मन्त्रालयले ब्रिटिस राजदूत स्पार्कसलाई बोलाएको थियो।
तर दूतावासका उपप्रमुख एवम् कार्यवाहक राजदूत सोमबार परराष्ट्र गएका थिए।
कायममुकायम परराष्ट्र सचिव शंकरदास बैरागीले दूतावासका कार्यबहाक राजदूत गाइ ह्यारिसनलाई गराएको ध्यानाकर्षणबारे मन्त्रालयका सहप्रवक्ता भृगु ढुंगानाले भने, "खासगरी नेपालमा अहिले संविधान लेखनको परिप्रेक्ष्यमा यसकिसिमको अनावश्यक टिप्पणीले नेपालको सौहाद्रतालाई असर गर्ने भन्दै यसकिसिमको काम भविष्यमा नगर्न सचेत गराउनुभएको छ।"
परराष्ट्र मन्त्रालयले सचेत गराए लगत्तै उता ब्रिटिश विदेश मन्लायले पनि राजदूतको उक्त लेख नेपालको संविधान लेखन प्रकृयालाई चुनौती दिन वा कुनै धार्मिक विचार व्यक्त गर्ने आशयले नभइ मानवअधिकारको बृहत बहसलाई सम्बोधन गर्ने आशयले आएको प्रतिक्रिया दिएको छ।
नेपालका संवैधानिक मुद्दाहरु नेपालका जनता र निर्वाचित प्रतिनिधिहरुको भएको भन्दै त्यसलाई सम्मान गर्ने विदेश मन्त्रालयले जनाएको छ।
सचेत
नेपालमा परराष्ट्रले कुनै पनि दूतावासका उच्चअधिकारीलाई बोलाएर यसरी सचेत गराउने घटनाहरु विरलै हुने गर्छन्।
यसअघि सन् २००६ मा वीरगंजमा भारतीय महावाणिज्यदूतले दिएको भनिएको राजनीतिक अभिव्यक्तिबारे परराष्ट्रले तत्कालीन भारतीय राजदूत जयन्त प्रसादलाई बोलाएर सचेत गराएको थियो।
पछिल्लो घटनामा परराष्ट्रले ब्रिटिश राजदूतको धारणाबारे ध्यानाकर्षण गराउन राजदूत स्वयमलाईनै बोलाएको भए पनि उनी नेपालमा नभएको भन्दै कार्यबहाक राजदूत पुगेको बताइएको छ।
क्रिसमस र अंग्रेजी नयाँ वर्ष नजिकिँदै गर्दा राजदूत छुट्टी मनाउन ब्रिटेन गएको भन्दै कतिपयले यसलाई संयोगमात्रै मानेका छन्।
तर केहीले भने परराष्ट्रको स्पष्टीकरण छल्न उनी त्यता गएको टिप्पणी गरेका छन्।





















