सिनाइ आक्रमणमा इजिप्टेली सेना निशानामा

इजीप्टको उत्तरी सिनाइ प्रायदीपमा इश्लामवादीहरुले सुरक्षाफौजमाथि आक्रमण गरेका छन्
तस्बिरको क्याप्शन, इजीप्टको उत्तरी सिनाइ प्रायदीपमा इश्लामवादीहरुले सुरक्षाफौजमाथि आक्रमण गरेका छन्
Published

इजीप्टको सिनाइ प्रायदीपमा इश्लामिक लडाकुहरुले गरेका श्रृंखलाबद्ध आक्रमणमा कम्तिमा २६ जना मारिएका छन्।

उत्तर सिनाइको राजधानी एल एरिशका सैन्य अखडाहरुमा कार बम र मोर्टारहरु प्रहार हुँदा कैयौं सुरक्षाकर्मी मारिएका हुन्।

नजिकैको शहर शीएक जुवेइड र गाजासँग सीमा जोडिएको रफामा पनि आक्रमण भएका थिए।

इश्लामिक स्टेटसँग सम्बन्ध राख्ने लडाकु समुह अन्सर बेइल अल मकदिसले आफुले उक्त आक्रमण गरेको जनाएको छ।

तनाव

इजीप्टका अधिकारीहरुले भनेका छन् एल एरिसस्थित सैन्य आधारबाहिर कार बम विस्फोट गराइएको छ।

र सैनिक होटल पुलिस क्लब र दर्जन भन्दा बटी चेकपोइन्टहरुमा मोर्टारहरु प्रहार गरिएका छन्।

विहिबारको आक्रमणमा करिब ३० जना घाइते भएका छन्।

इजीप्टका पूर्व राष्ट्रपति होस्नी मुबारकलाई सत्ताच्यूत गर्ने गरी भएको सन २०११ को जनलहरको वार्षिकोत्सव परेको यो हप्ता इजीप्ट भर देखिएका प्रदर्शनले तनाव बढाएको छ।

विफल

अक्टोबरमा एउटा चेकपोइन्टमा भएको आक्रमणमा दर्जनौं सैनिक मारिएयता उत्तर सिनाइमा संकटकाल र कर्फ्यु लगाइँदै आएको छ।

सन २०१३ मा इश्लामवादी राष्ट्रपति मोहम्मद मोर्सी अपदस्त भएपछि विद्रोहीहरुले आक्रमण बढाउँदै लगेका छन्।

सेनाले यो क्षेत्रमा उत्पन्न हिंसा नियन्त्रण गर्न वृहत कारवाही कार्यान्वयनमा ल्याएको छ तर अहिलेसम्म विफल रहँदै आएको छ।