मेड्रिडमा बामपन्थी पार्टीको जनप्रदर्शन

तस्बिर स्रोत, bbc
स्पेनको एक बामपन्थी दल पोडेमोसले राजधानी मेड्रिडको केन्द्रमा एक बृहत् जनप्रदर्शन गर्दै छ।
परिवर्तनका निम्ति प्रदर्शन भनिएको उक्त कार्यक्रममा दशौं हजार सहभागी भएको बताइएको छ।
सरकारी मितव्ययीताको नीतिको विपक्षमा उभिएको सो पार्टिको यो सबभन्दा विशाल जन प्रदर्शन भएको बताइएको छ।
हालै ग्रीसमा त्यहाँको मितव्ययीता नीतिको विरुद्ध रहेको बामपन्थी दल सिरिजाले चुनावी जित हासिल गरेपछि हौसिएको ठानिएको स्पेनी दल पोडेमोसको उक्त जनप्रदर्शनमा सहभागीहरुले ग्रीक झण्डा समेत फहराएका थिए।
हेरविचार
पछिल्ला जनमत सर्वेक्षणहरुमा पोडेमोस अग्रपंक्तिमा पुगेको छ।
उसले यसै वर्षको अन्ततिर हुने निर्वाचनमा आफुले जिते स्पेनको केही ऋण रद्द गर्ने घोषणा गरेको छ।
उक्त दलले राजनीतिज्ञहरुले सार्वजनिक हित नकि नीजि क्षेत्रको हितको रखबारी गर्नुपर्छ भन्दै आएको छ।
बीबीसी संवाददाता टम बरिज भन्छन् उसको र्यालीमा उत्साहजनक सहभागिता रहेको छ।
र र्यालीको वातावरण पनि मेला वा उत्सव जस्तो रहेको छ।
र्यालीका सहभागीहरु त्यही सडकमा जम्मा भएका छन् जहाँ वितेको ६ वर्षमा वित्तिय संकटका कारण त्यहाँका विभिन्न सरकारले अवलम्बन गरेका कडा आर्थिक नीतिहरुको विरुद्ध थुप्रै प्रदर्शन भए।
असन्तुष्टी
धेरै स्पेनीहरु राजनीतिक भ्रष्टाचारका खबरहरु अनि वर्तमान सत्ताधारी पिपल्स पार्टीको सरकारले र त्यसअघि सोसलिष्ट पार्टीहरुले गरेको सार्वजनिक खर्च कटौतिप्रति क्रुद्ध बनेका छन्।
जम्मा एक वर्ष पुरानो पोडेमोस दल जसको नामको शाब्दिक अर्थ हामी सक्छौं भन्ने छ उसलाई दुई पुराना दलहरुले लोकप्रियतावादीको संज्ञा दिएका छन्।
हाम्रा सम्वाददाता भन्छन् गत मे मा भएको यूरोपेली चुनावताका राजनीतिक परिदृश्यमा एक्कासी अगाडि देखा परेको पोडेमोसले त्यस यता मितव्ययीता र भ्रष्टाचार विरुद्धको चर्को आवाज निरन्तर उठाउँदै शक्ति आर्जन गरिरहेको देखिन्छ।
ग्रीसको सिरिजा दलसंग उसको निकट सम्बन्ध छ।
विशाल जनप्रदर्शनमार्फत उक्त दलले स्पेनका परम्परागत राजनीतिक दलहरुलाई सन्देश दिने अपेक्षा राखेको छ।
हाम्रा सम्वाददाता भन्छन् सो सन्देशलाई बाँकी यूरोपले पनि नजिकबाट नियाल्ने छ।





















