‘स्वीस बैंकमा नेपालसम्वद्ध खाताको खोजविन गर’

nrb
तस्बिरको क्याप्शन, राष्ट्र बैंकले आफ्नो अनुमति नलिइ विदेशमा बैंक खाता खोल्नु गैरकानूनी हुने बताएको छ
Published

एउटा अन्तर्राष्ट्रिय बैंकको स्वीट्जरल्याण्डस्थित शाखामा नेपालसंग सम्बन्धित आठ ग्राहकको पनि रकम रहेको हालै सार्वजनिक भएपछि त्यसबारे छानविन गरी तथ्य पत्ता लगाउन संसदको अर्थ समितिले सरकारलाई निर्देशन दिएको छ।

सरकारी अधिकारीहरुले भने त्यस्ता विवरणहरु बारे खोजविन गर्न तथा त्यस्ता बैंकहरुमा रहेको रकम अवैध ठहरिए पनि फिर्ता ल्याउन कानूनी जटीलताहरु रहेको औल्याएका छन्।

गोपनीयताको कडा प्रावधान रहेका कारण स्वीस बैंकहरु, विश्वव्यापी रुपमा अवैध सम्पत्ति जम्मा गर्नेहरुका लागि आकर्षणको केन्द्र भएको ठानिन्छ।

चासो

एचएसबीसी बैंकको स्वीट्जरल्याण्डस्थित शाखामा कयौं विदेशीहरुको खाता रहेको विवरण हालै चुहिएपछि विश्वभर नै त्यसले सनसनी मच्चायो।

सन् २००७ को उक्त विवरणमा नेपालसंग सम्बन्धित आठ ग्राहकको नाममा करिब साढे पाँच अर्ब रुपैयां रहेको सार्वजनिक भएपछि त्यसबारे बुझ्न अर्थ समितिले उच्च सरकारी अधिकारीहरुलाई डाकेको हो।

अर्थ सचिव,राष्ट्र बैंकका गर्भनर तथा सम्पत्ति शुद्धीकरण विभागका महानिर्देशकसंग आइतबार छलफल गरेपछि आफूहरुले दिएको निर्देशनबारे उक्त समितिका सभापति प्रकाश ज्वालाले भने,“एचएसबीसी बैंकमा रहेको भनिएको नेपालीहरुको खाताबारे बुझ्न र दोषीलाई कारबाहीको दायरामा ल्याउन हामीले भनेका छौं”।

तर समितिमा उपस्थित सरकारी अधिकारीहरुले स्वीट्जल्याण्ड र नेपालबीच पारस्परिक कानूनी सहायतासम्बन्धी सम्झौता नभएका कारण त्यस्ता विवरणहरु बुझ्न नमिल्ने धारणा राखेका थिए।

उक्त सम्झौतापछि त्यसका लागि ढोका खुलेपनि अवैध ठहरिएका रकमको हकमा भने मुलुक फिर्ता ल्याउन थप कानूनी प्रक्रियाहरु पूरा गरिनुपर्ने उनीहरुले बताए।

सम्पत्ति शुद्धीकरण विभागका महानिर्देशक केवल भण्डारी भन्छन्, “सन्धिपछि पनि अवैध सम्पत्ति फिर्ता ल्याउन त्यो अवैध हो भन्ने अदालती निर्णयसंगै सम्बन्धित देश र बैंकलाई अनुरोध गरेपछि मात्रै प्रक्रिया सुरु हुन्छ”।

कारबाही

वैध रुपमा आर्जित सम्पत्ति पनि विदेशी बैंकहरुमा जम्मा गर्न राष्ट्र बैंकको अनुमति लिनुपर्ने प्रावधान छ, अन्यथा विदेशी विनिमय नियमित गर्ने ऐन २०१९ अन्तर्गत चर्को जरिवाना र जेल सजायसम्म हुन सक्छ।

विदेशी बैंकहरुमा नेपालीहरुको खाता रहेको बारम्बार सार्वजनिक हुने गरेपनि कसैले पनि केन्द्रीय बैंकबाट अनुमति लिएको विवरण नरहेको स्वयम् अधिकारीहरु स्वीकार्छन्।

गत असारको पहिलो साता स्वीट्जरल्याण्डको केन्द्रीय बैंकले जारी गरेको तथ्यांक अनुसार त्यहांस्थित विभिन्न बैंकमा सन् २०१३ मा नेपालीहरुको ९ अर्ब १५ करोड रुपैयां जम्मा रहेको देखिएको थियो।

यसरी जम्मा रकम वैध वा अवैध ढंगले आर्जन गरिएको हो भन्ने छुट्याउन जटील हुने भएपनि पछिल्लोपटक छिमेकी भारतसहितका मुलुकहरुले आफ्ना नागरिकका त्यस्ता खाताबारे विवरण लिन स्वीट्जरल्याण्डसंग पहल थालिसकेका छन्।