स्वाइनफ्लु संक्रमित महिलाको मृत्यु

स्वाइन फ्लु देखिएकी एक महिलाको आइतबार काठमाण्डूस्थित मोडल अस्पतालमा उपचारका क्रममा ज्यान गएपछि अहिले गरिरहेको रोकथामको प्रयास पर्याप्त नभएको भन्दै त्यसका लागि नयाँ प्रस्ताव मन्त्रिपरिषदमा छिट्टै लैजाने स्वास्थ्य मन्त्रीले जनाएका छन्।
काठमाण्डू बस्ने ४५ वर्षमाथिकी ती महिला लामो समययता दमबाट पीडित रहेको र स्वास्थ्यअवस्था बिग्रिएपछि गत साता मोडल अस्पताल भर्ना भएको उक्त अस्पतालका निर्देशक डाक्टर भरत प्रधानले जानकारी दिए।
उनले भने, "दुबै फोक्सोमा निमोनिया देखिएको थियो, त्यही उपचारको क्रममा स्वाइनफ्लुको संक्रमण पनि देखिएपछि उहाँको ज्यान गएको हो।"
टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा गीता शाक्यका अनुसार गत दुई सातायता स्वाइन फ्लुबाट संक्रमित हुनेहरुको संख्या ४३ पुगेको छ।
तयारी
त्यसमध्ये सबैभन्दा बढी काठमाण्डूका २६ जनालाई उक्त संक्रमणले छोएको उनले बताइन्।
छिमेकी देश भारतमा स्वाइन फ्लूको असर निकै बढी देखिरहेको बेला खुल्ला सिमाना भएको हाम्रो देशमा यसको रोकथामका लागि कस्तो तयारी भइरहेको छ?
स्वास्थ्यमन्त्री खगराज अधिकारीले जवाफमा भने, "हामीले अहिले गरिरहेको कामहरु रोकथामका लागि पर्याप्त नभएको देखिएको छ, त्यसैले सम्बन्धीत कर्मचारीलाई खटाउने देखि आवश्यक आर्थिक रकमसम्मको व्यवस्था गर्न छिट्टै मन्त्रिपरिषदमा प्रस्ताव पठाउने तयारी भइरहेको छ।"
उनले त्यसका लागि सोमबार विहान मन्त्रालयमा बैठकसमेत बोलाइएको बताए।
गुनासो
अहिले स्वाइनफ्लूको उपचारका लागि चाहिने ट्यामी फ्लू नामको यान्टी भाइरल औषधी डेढ महिनाका लागि पर्याप्त भए पनि थप औषधीको लागि पनि पहल गरिने उनले बताए।
तर देशमा रहेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा रोगको शंका लागेर परिक्षण गर्न पुगेकाहरुलाई उचित सेवा नदिएको भन्ने जनगुनासो देखिएको छ।
त्यसका लागि आफूहरुले एक वर्षदेखि त्यहाँ जनशक्ति बढाउने कोशिस गरिरहे पनि नसकिरहेको मन्त्रीले बताए।
उनले भने, "तर अब हामी छिट्टै त्यसको पनि व्यवस्था गर्छौं र आजैदेखि भारतसँग सिमा जोडिएका मध्ये १६ जिल्लामा हामीले औषधी बाँड्न सुरु गरेका छौं, बाँकि जिल्लामा पनि पुर्याउँछौं।"





















