यो कुन रंगको लुगा हो?

तस्बिर स्रोत, swiked
हाम्रो आँखा कसरी गलत हुनसक्छ? जब हामी कुनै कुरा स्पष्ट देख्छौं तब हामी आफूले देखेको कुरामा पूर्णरुपमा ढुक्क भएर आफ्नो धारणा बनाउँछौं। र, कहिलेकाहीँ हामी गल्ती गर्छौं।
यदि तपाईंलाई लाग्छ कि माथि देखाइएको लुगा सेतो र सुनौलो रंगको हो भने तपाईं सतही रुपमा गलत हुनुहुन्छ।
ट्वीटरमा पोशाकको रंगलाई लिएर प्रतिक्रिया जनाउँदै ओस्कर विजेता जुलियाना मुरले आफूले सेतो र सुनौलो देखेको बताइन्। तर टेलर स्वीफ्ट र जस्टीन बीबर भने नीलो र कालो रंगको खेमामै छन्।
विज्ञको धारणा
हामीले बीबीसी वर्ल्ड सर्भिसकी फोटो सम्पादक एमा लिन्चलाई सोध्यौं - उनले सफ्टवयेरबाट फोटो सम्पादन गर्दा फोटो कुन रंगको थियो?
उनले विश्लेषणपछि भनिन्, पोशाकमा भएका सबै रंग नीलो थियो न कि सेतो। भइरहेका रंगहरुमा अरु नथपी त्यसैलाई गाढा बनाउँदा पोशाकको रंग सबै नीलो देखिनेछ।
पोशाकमा प्रयोग भएका कपडामध्ये नमुनाका लागि केही ठाउँमा आँखामा हाल्ने थोपा राखेर त्यस्तो नतिजा निकालिएको थियो।

तस्बिर स्रोत, Adobe Twitter
कम्प्यूटरको विश्लेषणले पनि पोशाकको रंग नीलो नै भएको पुष्टि गर्छ।
यो सबै कसरी शुरु भयो
यो फोटो सामाजिक सञ्जालमा पहिलोपटक राख्ने व्यक्तिले नै उनको यो खोजको पुष्टि गरेका हुन्।
स्कटल्याण्डकी २१ वर्षीया केइटलिन मक्निल लोक सांगितिक समूहकी एक सदस्य हुन्। एउटा विवाह समारोहमा उनीहरुले सांगितिक प्रस्तुति गरिरहँदा दुलहीकी आमाले उक्त पोशाक लगाएकी थिइन्।
उनका अनुसार यो पोशाकको रंगलाई लिएर मतभेदहरु विवाह अगाडिबाटै शुरु हुन थालेको हो, जब दुलहीकी आमाले आफू विवाहमा के लगाउँदै छु भनेर उक्त पोशाकको फोटो हुनेवाला दुलाहा-दुलहीलाई देखाएकी थिइन्।
दुलहा र दुलही यो फोटोमा देखिएको पोशाक नीलो र कालो वा सेतो र सुनौलो कुन हो भन्ने छुट्याउन नसकेपछि उनीहरुले त्यसलाई फेसबुकमा राखेका थिए।

तस्बिर स्रोत, swiked
त्यसपछि सामाजिक सञ्जालहरु उक्त फोटोलाई लिएर चर्चा झन झन चुलिएको हो।
किन हामीले फरक रंग देख्यौं?
नयाँ प्रविधि र प्राविधिक उपकरणहरुको समीक्षा गर्ने वेबसाइट wired.com का अनुसार लुगाको रंगको विषयलाई लिएर उत्पन्न अन्योल, मानिसहरुको आंखा र मष्तिष्कको विकास सूर्यको प्रकाशमा मात्र रंगहरु हेर्न र पहिचान गर्नका लागि भएको क्रमिक विकासको कारणसँग सम्बन्धित छ।
मानिसहरु दिउँसोको उज्यालोमा हेर्नका लागि अभ्यस्त हुँदै विकसित हुँदा हाम्रो मस्तिष्क पनि घामको प्रकाशको रंग परिवर्तन हुन्छ भन्ने वास्तविकता अनुसार काम गर्ने गर्छ।
कुनै वस्तु विहानीको घाममा गुलाफी रातो देखिन्छ भने त्यो दिउँसोको मध्य घाममा हल्का नीलो-सेतो देखिन्छ र सुर्यास्तको समयमा त्यो पुन: रातो नै देखिन्छ।
मानव मस्तिष्कले असली रंग पहिचान गर्नका निम्ति सूर्यको प्रकाशको प्रभावलाई बेवास्ता गर्ने प्रयास गर्छ।
त्यसैले केही मानिसले उक्त पोशाकको रंग नीलो देख्छन् तर तिनीहरुको मष्तिष्कले त्यस्लाई बेवास्ता गरेर लुगाको वास्तविक रंगभन्दा पनि त्यो रंगमा परेको प्रकाशको स्रोतको रंगलाई वास्तविक रंग भन्ने ठान्छ। त्यस्तो अवस्थामा तिनीहरुले सो लुगाको रंगलाई सेतो र सुनौलो देख्छन्।
अरुहरुको मस्तिष्कले लुगाको खास रंगलाई नै वास्तविक रंग ठहर गर्छ र तिनीहरुले त्यो लुगालाई नीलो देख्छन्।
यस्तो प्रक्रिया हजारौं वर्षदेखि विद्यमान रहिरहेको छ। तर यसपटक यो लुगाको फोटोको विशेष गुणले हामीलाई अरु समयभन्दा स्पष्ट ढंगले त्यसका रंगहरुलाई चिन्ने कुरामा विभिन्न फरकपन देखाएको छ।






















