'खानीमा विष्फोट हुँदा कैयौं बेपत्ता'

डोनेस्क
तस्बिरको क्याप्शन, डोनेस्कमा केही समय अघिसम्म पनि भीषण लडाईं भैरहेको थियो
Published

पूर्वी युक्रेनको डोनेस्कस्थित एक कोइला खानीमा विष्फोट हुँदा कैयौं बेपत्ता भएका छन्। ।

एक जना अधिकारीले कम्तीमा एउटा शव फेला परेको बताए।

अरु कैयौं खानीभित्रै चेपिएको हुनसक्ने ठानिएको छ र उद्धार कारवाही जारी छ।

एकाबिहानै उक्त विष्फोटन भएको थियो।

चिन्तित

प्राविधिक गडबडीका कारण भएको हुनसक्ने ठानिएको उक्त विष्फोटन पछि खानी कामदारका चिन्तित परिवारहरु त्यहाँ भेला भएका थिए।

युक्रेनको संसदको शुरुमा बोल्दै सभामुख भोलोदिमिर रोइसम्यानले भने, “आज बिहान स्थानीय समय अनुसार सवा चारबजे एउटा दुखान्त घटना भयो। जेसिद्को खानीमा एउटा विष्फोट भयो र अहिलेसम्म बत्तीसजनाको ज्यान गएको थाहा भएको छ। ती कामदार तथा खनिज मजदुरहरुको संझनामा अब एक मिनट मौन धारण गरौं।“

तर पछि हताहतिको संख्या यकीन भैनसकेको बताइएको थियो।

उक्त खानीबाट विषालु ग्याँस आइरहेकाले उद्धार कार्यमा अवरोध भैरहेको बताइएको छ।

दुर्घटना भएको बेला खानी भित्र दुईसय तीसजना कामदारहरु थिए।

तीमध्ये डेढसय भन्दा बढीलाई उद्धार गरिएको थियो।

डोनेस्कमा रुस समर्थित पृथकतावादी विद्रोहीहरु तथा युक्रेनी सेनाबीच केही समय अघिसम्म भीषण लडाईं भैरहेको बताए।

शान्त

तर एउटा युक्रेनी टेलिभिजन च्यानलसंग बोल्दै खानी कर्मचारीहरुको संगठनका एकजना अधिकारी मिखाइल भोलिनेट्सले उक्त इलाका हालैका दिनहरुमा शान्त रहेको बताए।

बीबीसीका संवाददाता टिम बरिज भन्छन्, दुर्घटनासंग जुध्न विद्रोहीहरुसंग पर्याप्त स्रोतसाधन नभएको बारे चिन्ता व्यक्त गरिएको छ।

युक्रेनका खानीहरुमा सुरक्षाको स्थिति निकै कमजोर रहने गरेको छ।

झण्डै आठ वर्षअघि सोही खानीमै भएको दुर्घटनामा एकसय एक जना खानी मजदुरहरुको ज्यान गएको थियो।

विष्फोट

झण्डै पन्ध्र वर्षअघि लुहान्स्क क्षेत्रमा रहेको अर्को खानीमा मिथेन ग्याँस विष्फोट हुँदा असी जना मारिएका थिए।

जेसिद्को युक्रेनको सबैभन्दा ठूला कोइलाखानीहरुमध्ये एक हो।

आफ्नो भाइका बारे चिन्तित एकजना महिलाले प्रश्न गर्दै भनिन्, “मलाई भन्नोस् बाँचेका मानिसहरु कहाँ छन्। तपाईंहरु किन सत्यतथ्य लुकाइरहनुभएको छ?”

आफ्नो नाम ओलेग बताउने एकजना उद्धारकर्ताले भने, “मलाई संझना भएसम्म गएको तेइस वर्ष यताको यो चौथो विष्लोटन हो। यदि हामीले छिट्टै मानिसहरुलाई बाहिर निकाल्न सकेनौं भने पछि हामीले शवमात्रै पाउने छौं।”