बलात्कारीको अन्तर्वार्ताप्रति तीव्र आलोचना

भारतका एकजना बलात्कारीको अन्तर्वार्ता सहित निर्माण भएको आफ्नो टेलिभिजन डक्युमेन्ट्री प्रसारणमा भारतीय अधिकारीहरुले प्रतिबन्ध लगाइदिएपछि उक्त डक्युमेन्ट्री बनाउने ब्रिटिश चलचित्र निर्माताले त्यसको बचाउ गरेकी छिन्।
भारतको प्रहरीले देशका संचार माध्यमहरुमा उक्त विवादास्पद अन्तर्वार्ता प्रसारण हुनबाट रोक्न अदालती आदेश प्राप्त गरेको छ।
तर उक्त डक्युमेन्ट्री आउँदो आइतबार ब्रिटेन लगायतका विभिन्न देशमा प्रदर्शन गरिंदै छ।
डक्युमेन्ट्री निर्माता लेस्ली अडवीनले भनिन्, "सो बीबीसी कार्यक्रममा बलात्कारका दोषी मुकेश सिंह र उनको वकीलका स्तब्धकारी अन्तर्वार्ताहरु छन्। तर कार्यक्रमले महिलाहरुबारे ती व्यक्तिहरुको नकारात्मक धारणाको कडा आलोचना पनि गरेको छ।"
प्रदर्शन
मुकेश सिंहलाई दिल्लीको एउटा बसमा एकजना महिलाको सामूहिक बलात्कार पछि हत्या भएको घटनाका सम्बन्धमा मृत्यु दण्डको सजाय सुनाइएको छ।
भारतका गृहमन्त्री राजनाथ सिंहले मृत्युदण्डको सजाय सुनाइएका दोषीसँग जेलभित्रै अन्तर्वार्ता गर्ने अनुमति टेलिभिजनकर्मीहरुले कसरी पाए भन्ने विषयमा अनुसन्धान गर्ने बताएका छन्।
उनले संसदमा बोल्दै उक्त डक्युमेन्ट्रीको आलोचना गरे र त्यसलाई भारतमा प्रदर्शन गर्न नपाइने बताए।
बीबीसी र भारतीय टेलिभिजन च्यानल एनडीटिभीका लागि निर्माण गरिएको उक्त डक्युमेन्ट्री प्रदर्शनमा दिल्लीको एउटा अदालतले पहिले नै प्रतिबन्ध लगाइसकेको छ।
अनुमति
उक्त डक्युमेन्ट्री निर्माता लेस्ली अडवीनले जेल र गृहमन्त्रालयले उनलाई सो अन्तर्वार्ता गर्ने अनुमति दिएको बताएकी छिन्।
उनले सन् २०१२ मा दिल्लीको एउटा बसमा भएको बलात्कार र हत्याको घटनामा संलग्न भएको अभियोगमा दोषी ठहरीएका चारजना मध्ये एकजनासंग अन्तर्वार्ता गरेकी थिइन्।
उक्त घटनामा एकजना २३ वर्षीया विद्यार्थीको बलात्कार र हत्या भएपछि भारत र संसार भरी नै आक्रोश व्यक्त भएको थियो।





















