आप्रवासी संकटबारे ब्रसेल्समा छलफल

तस्बिर स्रोत, AFP
युरोपेली संघका नेताहरु लिबियाका मानवतस्करहरुविरुद्ध सैनिक कारवाही गर्नु पर्ने इटलीको आह्वानका बारे छलफल गर्न ब्रसेल्समा भेला भएका छन्।
इटलीका प्रधानमन्त्री माटेओ रेन्जीले समुद्री यात्रा थाल्नु अघि नै मानव तस्करहरुले प्रयोग गर्ने डुंगाहरु नष्ट गर्ने म्यान्डेटका निम्ति अपील गरेका थिए।
फ्रान्सका विदेशमन्त्रीले पनि त्यस्तो प्रस्तावप्रति समर्थन जनाएका छन्।
आप्रवासी विवादको विस्फोटक प्रकृतिकाबारे इयुका सरकारहरु बढी नै सचेत छन्।
असन्तोष
समुद्रमा डुंगा दुर्घटना हुंदा ज्यान गुमाएकाहरुको पत्रपत्रिकामा छापिएका र टेलिभिजनमा देखाइएका कारुणिक दृश्यहरुबाट युरोपभरीका मानिसहरु स्तब्ध भएका छन्।
अर्को तर्फ तिनका नेताहरुलाई के पनि थाहा छ भने युरोपमा वित्तीय संकट, थुप्रै इयु राष्ट्रहरुमा विद्यमान चर्को बेरोजगारी दर जस्ता कारणहरुले गर्दा विदेशी आप्रवासीहरु विरुद्ध केही खेमामा असन्तोष पनि कायम छ।
समग्र महादेश भरि नै आप्रवासी विरोधी राजनीतिक पार्टीहरुले राजनीतिक यथास्थितिलाई चुनौती दिइरहेका छन्।
यो अवस्थामा बिहीबारको बैठकमा इयुका नेताहरुले विषयवस्तुमा सावधानीपूर्ण प्रवेश गर्नेछन्।
आक्रोश
बीबीसीकी युरोप सम्पादक कात्या एडलर भन्छिन्, नेताहरुले आफ्ना सार्वजनिक वक्तव्यमा प्रयोग हुने भाषा र शब्द समेत सावधानीपूर्वक चयन गर्नेछन्।
आप्रवासीहरुलाई थोत्रा डुंगाहरुमा हालेर युरोप पठाउन खोज्ने मानव तस्करहरु विरुद्ध निश्चय नै बैठकमा आक्रोश व्यक्त हुनेछ।
त्यसपछि युद्धग्रस्त क्षेत्रहरुमा फसेका मानिसहरुलाई सहयोग गर्न इयुले गरिरहेको प्रयासमाथि जोड दिइनेछ र द्वन्द्व समाधान र सरकार निर्माणमा राष्ट्रसंघीय प्रयासमा युरोपको सहयोगको चर्चा पनि हुनेछ।
उनी भन्छिन्, तर युरोपप्रति आप्रवासीहरुलाई आकर्षण गर्ने तत्वलाई न्यूनीकरण गर्ने प्रयास गर्दा युरोपका नेताहरु ती आप्रवासीहरुलाई युरोपतर्फ धकेल्ने शक्तिशाली तत्वहरुको वास्तविकताका बारेमा पनि सचेत हुनुपर्दछ।





















