'अति प्रभावित जिल्लामा केन्द्रित हुने'

भूकम्प गएको चौथो दिन मंगलबार सरकारले अति प्रभावित जिल्लामा काम केन्द्रित गर्ने जनाएको छ
तस्बिरको क्याप्शन, भूकम्प गएको चौथो दिन मंगलबार सरकारले अति प्रभावित जिल्लामा काम केन्द्रित गर्ने जनाएको छ
Published

शक्तिशाली भूकम्प गएको चौथो दिन मंगलबारदेखि सरकारले राहत र उद्धारलाई अति प्रभावित जिल्लामा केन्द्रित गर्ने सरकारका प्रवक्ता तथा सूचना तथा सन्चार मन्त्री मिनेन्द्र रिजालले बताएका छन्।

सरकारले राहत र उद्धार प्रभावकारी बनाउन नसकेको भनेर आलोचना भइरहेका बेला मन्त्री रिजालले 'मंगलबारदेखि अझ मेहनत गरेर उद्धार र राहत प्रभावकारी बनाउने' प्रतिबद्धता जाहेर गरेका हुन्।

सबैजसो राजमार्ग सफा गरिसकेको र विदेशबाट राहत सामग्री आउने क्रम जारी रहेको उनको भनाइ छ।

अति प्रभावित ठाउँहरुबाट उद्धारको काम मंगलबार पनि जारी रहने उनले बताएका छन्।

अति प्रभावित

मन्त्री रिजाल भन्छन्, "सोमबार हेलिकोप्टरको पचपन्न वटा उडानबाट २सय ० जनाको उद्धार गरिएको र अाइतबार ३सय ८ जनाको उद्धार गरियो। त्यो क्रम मंगलबार पनि जारी रहनेछ।"

उद्धार र राहतको काम अति प्रभावित जिल्लाहरु रसुवा, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ र गोरखामा विशेष रुपमा केन्द्रित गर्ने गृह मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालले बताएका छन् ।

राहतका लागि मुख्य रुपमा पाल खोज्ने र खरिद गर्ने प्रक्रिया शुरु भएको मन्त्री रिजालले बताएका छन्।

उनी भन्छन्, "पाल हामीसँग छैन। खरिद गर्न सकिने देशमा हाम्रा दुतावासलाई भन्या छौं। पाल पछिसम्म काम लाग्छ किनभने लामो समय घरबारविहीनलाई शिविर बनाएर राख्नुपर्ने हुन्छ।"

उनले मंगलबार या बुधबारदेखि पाल नेपाल आइपुग्ने बताएका छन्।

गृहमन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालका अनुसार अन्तर्राष्ट्रिय खोजी तथा उद्धार टोली आउने क्रम जारी रहेको छ।

कतिलाई नेपाली सेनासँग समन्वय गरी भग्नावशेष खन्ने र उद्धार गर्ने काममा खटाइएको छ।

पछिल्लो संख्या

गृह प्रवक्ता ढकालले उपलब्ध गराएको पछिल्लो विवरण अनुसार मृतकको संख्या ४ हजार ३ सय १० पुगेको छ भने घाइतेको संख्या ७ हजार ९ सय ५३ पुगेको छ।

शक्तिशाली भूकम्प गएको तेश्रो रात सोमबार पनि हजारौं नेपालीहरुले खुला आकाशमुनि रात बिताएका छन्।

सोमबार दिनभरजसो भूकम्पको धक्का महसुस नगरेपछि राहत अनुभव गरेकाहरु राती दशबजेतिर ठूलो धक्का आएपछि पुन: त्रसित बनेका थिए।

शक्तिशाली भूकम्पका कारण जतिखेर पनि जमीन हल्लेको जस्तो हुने, भुइँचालो गइरहे जस्तो हुने त्रास धेरैको मनमा परेको छ।

संयुक्त राष्ट्र संघले भूकम्पबाट करिब ८० लाख मानिस प्रभावित भएको अनुमान गरेको छ।