उद्धार र राहत नपाएको उपत्यकाबासीकै गुनासो

तस्बिर स्रोत, .
भूकम्पबाट प्रभावित जिल्लाहरुकै कुरा गर्दा राजधानी काठमाडौंलगायत उपत्यकाभित्रका अन्य दुई जिल्ला भक्तपुर र ललितपुरमा पनि ठूलो मानवीय र भौतिक क्षति भएको छ।
राजधानी काठमाडौंमा मात्रै ज्यान गुमाउनेहरुको संख्या एक हजार नाघिसकेको छ।
काठमाडौंभित्रकै गाउँ र मुख्य सहरी क्षेत्रमासमेत उद्धार कार्यक्रम जारी नै रहेकोले मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ।
भूकम्प गएको चार दिनसम्म आफ्ना आफन्तको उद्धार सरकारले नगरेको र राहत सामग्रीसमेतको सुविधा आफूहरुले पाउन नसकेको काठमाडौंको कतिपय खुल्ला ठाउँमा बसिरहेका सर्वसाधारणको गुनासो छ।
गुनासो
गोंगबु नयाँ बसपार्क नजिकै पाल टाँगेर बसिरहेका केही सर्वसाधारणले गुनासो गर्दै भने, "भूकम्प गएको चार दिन हुँदा पनि घरमा पुरिएका भाइबुहारीको उद्वार हुन सकेको छैन। उनीहरुलाई भोट माग्नुपर्दा हामी जनता चाहिने, हामी जनतालाई चाहिँदा सरकारले के दिन सकेको छ?"
उनीहरुले यस्तो गुनासो गरिरहँदा काठमाडौंका प्रमुख जिल्ला अधिकारी एकनारायण अर्यालले भने भ्याएसम्म बढी प्रभावित क्षेत्रहरुमा राहतका सामग्री पुर्याइरहेको बताए।
उनले भने, "हामीले निकै क्षति भएका केही ठाउँमा बाहेक अन्यत्र उद्वारलाई धेरै प्राथमिकता दिएर काम गरिरहेका छौं।"
काठमाडौंमात्रै नभइ अर्को धेरै क्षति पुगेको भनिएको भक्तपुर जिल्लामा पनि उद्धारको काम जारी छ।
अहिलेसम्म त्यहाँ मृतकको संख्या २ सय ४६ जना पुगिसकेको छ भने धेरै भग्नावशेष खोतल्न बाकिँ रहेकोले त्यो संख्या अझै बढ्ने बताइएको छ।
प्रयास
भक्तपुरका प्रमुख जिल्ला अधिकारी अनिलकुमार ठाकुरले विस्तारै त्यस्ता भग्नावशेष खोतलेर उद्धार र राहतको काम जारी राखेको बताए।
उनले भने, "हामीले अहिलेसम्म सकेजति उद्वार गरिरहेका छौं तर धेरै गल्लीभित्र भित्र गएर भवन खोतल्नै समस्या भएको छ। राहतका लागि त हामीले सकेजति गरिरहेका छौं।"
काठमाडौं र भक्तपुरमामात्रै नभइ राजधानीसँगै जोडिएको ललितपुर जिल्ला पनि प्रभावित भएको छ।
ललितपुरको ग्रामीण भेगमा झन्डै ८० प्रतिशत घरहरुमा क्षति पुगेको अधिकारीहरुले बताउँदै आएका छन्।
त्यहाँ ज्यान गुमाउनेहरुको संख्या १ सय ५८ पुगेको छ भने उद्धारको काम धेरै बाकिँ रहेकाले त्यो संख्या धेरै बढ्ने अनुमान गरिएको छ।
कठिनाइ
विशेषगरि ललितपुरको दक्षिणी भेगमा रहेका त्यस्ता कतिपय गाउँहरुमा राहत र उद्धार पुर्याउनै समस्या भइरहेको त्यहाँका प्रमुख जिल्ला अधिकारी यादवप्रसाद कोइरालाले बताए।
उनले भने, "धेरै ठाउँमा हेलिकप्टरबाहेक अन्य साधनबाट राहत उपलब्ध गराउने अवस्था छैन। पानी परिरहेकोले हामिले अहिले बाटोबाट लैजान सक्ने अवस्था छैन।"
उनले भने जस्तो विकट गाउँमा मात्रै होइन राजधानीबाट नजिकै रहेका नख्खु र बुङ्मति जस्ता ठाउँहरुमा पनि सर्वसाधारणको गुनासो सामान्य राहतका सुविधा पाउन नसकेको नै देखिन्छ।
तर सरकारी अधिकारीहरुले भने आजैदेखि भूकम्पको धक्का कम महसुस गर्न थालिएकाले सुरक्षित बासस्थान हुनेहरु घरमा बस्न थाले विस्थापितहरुलाई राहतको पहुँच सहज हुने बताएका छन्।






















