सिन्धुपाल्चोकमा उद्धारको खाँचो: प्रजिअ

भूकम्पको एक हप्तापछि पनि सिन्धुपाल्चोकमा उद्धार गर्न बाँकी रहेको बताइएको छ
तस्बिरको क्याप्शन, भूकम्पको एक हप्तापछि पनि सिन्धुपाल्चोकमा उद्धार गर्न बाँकी रहेको बताइएको छ
Published

नौ दिनअघिको विनाशकारी भूकम्पबाट राजधानीको उत्तरपूर्वी क्षेत्रमा पर्ने सिन्धुपाल्चोक जिल्ला सम्पूर्ण रुपमा ध्वस्त भएको त्यहाँका प्रमुख जिल्ला अधिकारी कृष्ण ज्ञवालीले बताएका छन्।

उनका अनुसार सिन्धुपाल्चोकमा रहेका ६५ हजार घरधुरीमा ९५ प्रतिशत घर ध्वस्त भएका छन्।

राजधानीबाट नजिकको जिल्ला भएर पनि; छिमेकी चीनसँगको मुख्य नाका तातोपानी रहेको जिल्ला भएर पनि; अत्यन्त दुर्गम, कठिन तथा विकासमा पछाडि परेको जिल्ला सिन्धुपाल्चोकमा बाटोघाटोको असुविधाकै कारण राहत तथा उद्धार कार्य प्रभावित भएको ज्ञवालीको भनाइ छ।

भूकम्पमा बिजुलीका खम्बाहरु ढलेपछि बन्द भएको बिद्युत प्रवाह शनिबारदेखि सदरमुकामका सरकारी भवनहरुमा आंशिक रुपमा चालु भएको उनी बताउँछन्।

अवरुद्ध

अझ पनि टेलिफोन सेवा अवरुद्ध छ, कुनै-कुनै बेला काठमाडौं र काभ्रेका टावरका कारण सम्पर्क हुन्छ, सिन्धुपाल्चोकको टावर काम गरेको छैन।

उनी भन्छन्, "धेरैको सडकमा पहुँच छैन। असाध्यै दुर्गम ठाउँ छ। कैयौं सरकारी कार्यालय र प्रहरी कार्यालय ध्वस्त छन्, प्रहरीहरु आफैँ परेका छन् त्यसैले राहतको काम प्रभावित भएको छ।"

कति ठाउँमा पुरिएको खबर पाएर पनि हेलिकोप्टर अवतरण गर्न मिल्ने ठाउँ नभएको र पहिरो आउने क्रम जारी रहेकाले उद्धारकर्मीलाई खतरा हुने भएकाले जान नसकिएको ज्ञवाली बताउँछन्।

उद्धार जारी

उद्धार तथा राहतका लागि गाउँ विकास समितिका सचिवहरु र राजनीतिक संयन्त्र बनाएर परिचालन गरिएको जानकारी दिँदै ज्ञवालीले आइतबार पनि उद्धार कार्य जारी रहने बताएका छन्।

चेलीबेटी बेचविखन जस्ता मानवीय प्रकोप लामो समयदेखि झेल्दै आएको तामाङ बहुल सिन्धुपाल्चोकले गत वर्ष सुनकोशी नदीमा पहाड खस्दा पनि जनधनको ठूलो क्षती बेहोरेको थियो।