जेठ १ गतेदेखि विद्यालय सञ्चालनको तयारी

भूकम्पका कारण धेरै बालबालिकामा टोलाउने, कम बोल्ने, आत्तिने समस्या देखिने गरेको अभिभावकहरुको अनुभव छ
तस्बिरको क्याप्शन, भूकम्पका कारण धेरै बालबालिकामा टोलाउने, कम बोल्ने, आत्तिने समस्या देखिने गरेको अभिभावकहरुको अनुभव छ
Published

भूकम्पबाट प्रभावित जिल्लाहरुमा आउँदो जेठ १ गतेबाट विद्यालय संचालन गर्ने तयारी भइरहेपनि धेरै संख्यामा विद्यालयहरु पूर्ण र उचित ढंगले सञ्चालन गर्ने स्थिति नरहेको अधिकारीहरुले बताएका छन्।

थुप्रै क्षतिग्रस्त विद्यालय भवन पुनर्निर्माण नहुँदासम्म शिक्षकले उपयुक्त स्थान छनौट गरी अस्थायी सिकाई केन्द्रका रुपमा सञ्चालन गर्ने तयारी भएको उनीहरुले जनाएका छन्।

भूकम्पबाट सबभन्दा प्रभावित १४ जिल्लामा मात्रै झण्डै १ हजार विद्यालय भवन पूर्ण क्षतिग्रस्त र झण्डै ४ हजार विद्यालयमा आंशिक रुपमा क्षति पुगेको शिक्षा मन्त्रालयले जनाएको छ।

प्रारम्भिक अनुमानमा यो संख्या देखिए पनि संख्या अझै बढ्न सक्ने मन्त्रालयको भनाई छ।

तयारी

गाउँ गाउँमा विद्यालय भवन सग्ला नभए पनि विद्यार्थीलाइ सँधै घरमा राख्न नमिल्ने भन्दै विद्यालय सञ्चालन गर्ने तयारीमा आफूहरु जुटेको शिक्षा विभागका महानिर्देशक डिल्ली राम रिमाल बताउँछन।

उनले भने, "पहिलेजस्तो कक्षा सञ्चालन हुने आशा हामीले गरेका छैनौं, तर अब विस्तारै गर्ने गरी तयारी अगाडि बढाएका छौं।"

भूकम्प प्रभावित १४ जिल्लामा ७ हजारभन्दा धेरै विद्यालयहरु सञ्चालनमा थिए। ‍

जहाँ करिब १२ लाख भन्दा धेरै बालबालिकाले पठनपाठन गर्ने गरेको शिक्षा मन्त्रालयको तथ्यांक छ।

तर भूकम्पबाट अधिकांश विद्यालयमा पूर्ण तथा आंशिक क्षति पुगेपछि विद्यार्थी र अभिभावक हाल अन्यौलमा छन्।

शिक्षा मन्त्रालयले हाल विद्यालय सञ्चालनको तयारीलाई तीन चरणमा बाँडेको छ।

आशय

पहिलो चरणमा शिक्षकले जहाँ आफू सुरक्षित छ त्यही विद्यार्थीलाइ राखेर पठनपाठन गराउने, दोस्रो चरणमा अस्थायी सिकाइ केन्द्र सञ्चालन गरी खुला चौर, पालमा विद्यार्थी राखेर पढाउने र तेस्रो चरणमा भत्केका विद्यालयको पुनर्निर्माणमा लाग्ने भन्ने रहेको छ।

मन्त्रालयको विपत व्यवस्थापन कार्य टोलीका सदस्य सचिव लक्ष्मण बस्यालले भने, "हामीले अस्थायी विद्यालय निर्माणका लागि योजना बनाएका छौं, त्यसले दिउँसोको खाजा, किताब, ट्वाइलेटलगायतका विषय समेटिने छ। त्यसको लागि करिब ३ अर्ब बजेट व्यवस्थापन हुनुपर्ने प्रारम्भिक अनुमान छ।"

हाल चर्को घाम लाग्ने याम रहेको र केही सातापछि वर्षायाम समेत शुरु हुन लागेको बेला विभागले बनाएको यो योजना त्यति प्रभावकारी नहुने शिक्षाविद्हरु बताउँछन्।

तर तत्कालका निम्ति विद्यार्थीलाइ पढाइभन्दा मनोसामाजिक परामर्शको खाँचो रहेको हुँदा विद्यालय सञ्चालनमा ल्याउनुपर्ने उनीहरुको सुझाव छ।

शिक्षाविद् विष्णु कार्कीले भने, "सुरक्षित ठाउँमा विद्यार्थीहरु आउने वातावरण बनाइदिने हो। उनीहरु आउन्, बसुन्, खेलुन्, साथीहरुसँग छलफल गरुन् र आफ्नो आत्मविश्वास बढाउन् भन्ने अहिले सबैको आशय हो।"

प्रभावित जिल्लामा सरकारी मात्र नभइ निजी विद्यालयहरुको संरचनाको अवस्था कस्तो छ र ती विद्यालयलाइ कसरी व्यवस्थापन गर्ने सकिन्छ भन्नेमा मन्त्रालयले हाल प्राविधिक सहितको २० टोलीलाई प्रभावित जिल्लामा पठाइसकेको जनाएको छ।