बेइजिङमा धूम्रपान गर्न प्रतिबन्ध

नयाँ कानुनले सहरभरि चुरोटको विज्ञापन गर्न पनि रोक लगाएको छ।
तस्बिरको क्याप्शन, नयाँ कानुनले सहरभरि चुरोटको विज्ञापन गर्न पनि रोक लगाएको छ।
Published

नयाँ कानून लागू भएसँगै सार्वजनिक ठाउँमा सोमबारदेखि धूम्रपान गर्न रोक लगाइएको हो।

चीनमा ३० करोड भन्दा बढी मानिस धूम्रपान गर्छन् भने एक करोड भन्दा बढी मानिसको वर्षेनी चुरोटबाट लाग्ने रोगकै कारण मृत्यू हुन्छ।

चीनमा यसअघि नै धूम्रपानमा प्रतिबन्ध लगाइए पनि प्रभावकारी हुनसकेको थिएन।

अहिले जारी भएको कडा कानून अनुसार बेइजिंगका रेस्टुरेन्ट, कार्यालय र सार्वजनिक यातायातभित्र चुरोट पिउन रोक लगाइएको छ।

अनुगमन

हजारौं निरीक्षकले कानुनको अनुगमन गर्नेछन्।

स्वास्थ्य मन्त्रालयले सन् २०११ मा जारी गरेको निर्देशिकाले देशैभरका होटल र रेस्टुरेन्टमा धूम्रपान गर्न रोक लगाएको थियो।

यद्यपी, उक्त निर्देशिका निकै अस्पष्ट हुँदा चीनमा धूम्रपान गर्नेहरुले आफ्नो इच्छा अनुसार चुरोट पिउन छोडेका थिएनन्।

कानून बनाउनेहरुले गत नोभेम्बरमा नयाँ निर्देशिकामा सहमति जनाएका थिए। जुन सोमबारबाट मात्रै लागू हुन सुरु भएको हो।

उक्त कानून अनुसार नियम तोड्नेलाई करिब २०० यान र बेवास्ता गरि चुरोटको ब्यापार गर्नेहरुलाई १० हजार यान जरिवाना लाग्नेछ।

सार्वजनिक

रोयटर्स समाचार संस्थाका अनुसार दोहोर्याएर कानुन तोड्नेको नामलाई सरकारी वेबसाइटमा सार्वजनिक गरिनेछ।

विश्व स्वास्थ्य संगठनले उक्त नयाँ कानुनको स्वागत गरेको छ।

संगठनका चीनस्थित प्रतिनिधि डाक्टर बर्नार्ड स्क्वार्टल्यान्डरले कानुन लागू भएपछि यसले सार्वजनिक स्थलभित्र सदाका लागि हावा सफा हुने र त्यसका कारण २ करोड भन्दा बढी मानिसहरु अरुले पिउने चुरोटको धुवाको असरबाट बच्ने बताए।

तर कतिपयले भने चुरोट पिउने लत निकै बढीसकेकोले कानुन लागू गर्न कठिन हुने बताएका छन्।

चीनको रोग नियन्त्रण केन्द्रका पूर्व उपनिर्देशक यांग गोङ्हुवानले ठूलो संख्यामा मानिसहरु चुरोट पिउने भएकोले घरभित्र धुमपानलाई रोक लगाउनु अव्यवहारिक हुने एएफपी समाचार संस्थालाई बताएका छन्।