फिफा अध्यक्ष ब्लाटरद्वारा राजीनामाको घोषणा

अध्यक्ष सेप ब्लाटरले फिफामा व्यापक पुनर्संरचनाको आवश्यकता रहेको बताएका छन्
तस्बिरको क्याप्शन, अध्यक्ष सेप ब्लाटरले फिफामा व्यापक पुनर्संरचनाको आवश्यकता रहेको बताएका छन्
Published

भ्रष्टाचारसम्बन्धी विवादमा मुछिएपछि विश्व फुटबलको प्रशासकीय निकाय फिफाका अध्यक्ष सेप ब्लाटरले आफ्नो पदबाट राजीनामा दिने घोषणा गरेका छन्।

निर्वाचित भएको केही दिनभित्र राजीनामा दिन लागेका ब्लाटर अमेरिकी अनुसन्धानको दायरामा परेको बताइएको छ।

विवादमाझ पद छोड्ने घोषणा गरेका ७९ वर्षीय स्वीस नागरिक ब्लाटरले नयाँ अध्यक्ष चयनका लागि जतिसक्दो चाँडो फिफाको असाधारण कंग्रेस बोलाउन आग्रह गरे।

गत साता ब्लाटर पाँचौं कार्यकालका लागि अध्यक्ष पदमा निर्वाचित भएका थिए।

समर्थन

उनले आफ्ना प्रतिद्वन्द्वी जोर्डनका राजकुमार अलि बिन अल हुसैनलाई पराजित गरेका थिए।

भ्रष्टाचारमा संलग्न रहेको आरोपमा मतदान हुनु दुई दिनअघि फिफाका सातजना उच्च अधिकारीहरु पक्राउ परेका थिए।

ब्लाटरले भने, “मेरो जिम्मेवारीलाई सबैले समर्थन गरेजस्तो देखिएन।”

अमेरिकी महान्यायाधिवक्ता लोरेट्टा लिन्चले फिफाभित्र व्यापक भ्रष्टाचार रहेको बताएकी छन्
तस्बिरको क्याप्शन, अमेरिकी महान्यायाधिवक्ता लोरेट्टा लिन्चले फिफाभित्र व्यापक भ्रष्टाचार रहेको बताएकी छन्

अमेरिकी सञ्चारमाध्यमहरुका अनुसार ब्लाटर भ्रष्टाचारमा संलग्न रहेकोबारे अमेरिकामा अनुसन्धान शुरु भईसकेको छ।

प्रतिस्पर्धा

सन् १९९८ देखि फिफाको अध्यक्ष रहिआएका ब्लाटरले फिफाको आगामी साधारण कंग्रेस, मेक्सिको सिटीमा सन् २०१६ को मे १३ तारिखमा हुने बताए।

ब्लाटरसँग पराजित अलिले फुटबलका लागि आफू सधैं तयार रहेको बताएका छन्।

त्यसैगरी पूर्व फ्रान्स इन्टरनेशनल डेविड जिनोलाको समूहले उनी फेरि अध्यक्ष पदका लागि उठ्ने जनाएको छ।

यसअघि केही मापदण्ड नपुर्याएपछि उनी प्रतिस्पर्धामा सहभागी हुन पाएका थिएनन्।