चीनका पूर्व सुरक्षा प्रमुखलाई आजीवन जेल सजाय

तस्बिर स्रोत, EPA
भ्रष्टाचारको मुद्दामा दोषी पाइएका चीनका कम्युनिष्ट शासनकालको हालसम्मकै सबैभन्दा वरिष्ठ राजनीतिज्ञ तथा पूर्व सुरक्षा प्रमुख जो योङकाङलाई आजीवन जेल सजाय सुनाइएको छ।
उनलाई घुस लिएको, आफ्नो शक्तिको दुरुपयोग गरेको र देशका संवेदनशील सूचनाहरु जानाजान चुहाएकोमा दोषी पाइएको चीनको सरकारी समाचार संस्था सिन्हुवाले जनाएको छ।
सन् २०१२ मा अवकाश लिनु अघि जो चीनका सबैभन्दा शक्तिशाली व्यक्तिहरु मध्ये एक थिए।
त्यसको एक वर्षपछि राष्ट्रपति सि जिनपिङ्गले शुरु गरेको भ्रष्टाचार विरोधी एउटा महत्वपूर्ण अभियान अन्तर्गत उनी माथि अनुसन्धान अघि बढाइएको थियो।
स्वीकार
जोले चीनको उत्तरी शहर तियान्जिनको एउटा बन्द इजलासमा आफू दोषी रहेको स्वीकारेका बताइएको छ।
सिन्ह्वा समाचार संस्थाका अनुसार उनले अदालतको फैसलामाथि पुनरावेदन नगर्ने बताएका छन्।
बेइजिंगबाट बीबीसीकी संवाददाता सिलिया हेट्टन भन्छिन्, उक्त आदेशले धेरैलाई आश्चर्यमा पारेको छ।
जो योङकाङविरुद्धको मुद्दा सुनवाइ देशभित्र व्यापक प्रचार प्रसार गरिने ठानिएको थियो।
गोप्य
जोका निक्कै नजिकका साझेदार बो सिलाईसँग सम्बन्धित यस्तै उच्च तहको भ्रष्टाचारको मुद्दामा अदालती सुनवाइ हुने जानकारी चिनियाँ र विदेशी संचारमाध्यमलाई ४८ घण्टा अगावै दिइएको थियो।
गम्भीर मुद्दामा सजाय पाएका अन्य उच्च अधिकारी जस्तै जोलाई पनि मृत्युदण्ड हुन सक्ने ठानिएको थियो।
महिनौँ सम्म कुनै सूचना नदिइ गोप्य रुपमा गरिएको मुद्दाको अनुसन्धान उनको खासै बाहिर नआएको र गोप्य सार्वजनिक जीवनशैलीसँग मिल्दो जिल्दो देखिन्छ।
सिन्ह्वा समाचार संस्थाले देशको गोप्य सूचनासँग सम्बन्धित मुद्दामा मे २२ तारिख देखि बन्द इजलासमा सुनवाइ गरिएको जनाएको छ।
सजाय
बिहीबार अदालतको आदेश आउनु अघि उक्त मुद्दाका बारेमा कुनै पनि सूचना सार्वजनिक गरिएको थिएन।
सिन्हवाका अनुसार जोलाई झन्डै १३ करोड युआन रकम घुस लिएकोमा आजीवन जेल सजाय, पदको दुरुपयोग गरेकोमा सात वर्षको सजाय र देशका गोप्य सूचना सार्वजनिक गरेकोमा ४ बर्षको सजाय सुनाइएको छ।
उनी कुनै बेला चीनको सार्वजनिक सुरक्षा मन्त्रालयका प्रमुख र पोलिटब्युरो स्थायी समिति भनिने देशको सबैभन्दा शक्तिशाली निकायका सदस्य थिए।
सन् १९४९ मा कम्युनिष्ट पार्टी शक्तिमा आएपछि सजाय पाउने उनी भ्रष्टाचारमा दोषी पाइएका सबैभन्दा वरिष्ठ चिनियाँ अधिकारी हुन्।





















