खराब मौसमका कारण शव उत्खनन स्थगित

विनाशकारी भूकम्पपछि रसुवाको लाङटाङ पूर्ण रुपमा तहसनहस भएको छ।
तस्बिरको क्याप्शन, विनाशकारी भूकम्पपछि रसुवाको लाङटाङ पूर्ण रुपमा तहसनहस भएको छ।
Published

बैशाख १२ गतेको विनाशकारी भूकम्पसँगै लाङटाङमा आएको भीषण हिमपहिरोमा ज्यान गुमाएको ठानिएका एक सय भन्दा बढीको शव उत्खन्नलाई खराब मौसमका कारण स्थगित गरिएको छ।

रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी गौतम रिमालले सोमबार सो क्षेत्रमा आएको सानो हिमपहिरोमा ५ जना सुरक्षाकर्मी घाइते भएपछि वेपत्ता शवहरुको उत्खन्न रोकिएको बीबीसीलाई बताए।

घाइते मध्ये ४ जना सैनिकलाई उपचारका लागि हेलिकप्टरमा काठमाडौँ ल्याइएको छ।

पदयात्राको लागि ख्याति कमाएको लाङटाङमा भूकम्पसँगै गएको भीषण हिमपहिरोमा पुरिएका २२ विदेशी सहित १ सय ९२ जनाको शव निकालिएको स्थानीय प्रशासनले जनाएको छ।

कठिनाइ

हिम पहिरोमा अझै पुरिएको ठानिएका १ सय ६ जनाको खोजीका लागि उक्त क्षेत्रमा झन्डै १ सय २० जना सैनिक खटाइएको छ।

मौसम खराब भएपछि शव उत्खन्ननका लागि खटिएका सुरक्षाकर्मीहरुले सुरक्षित स्थानमा आश्रय लिइरहेको सहायक प्रमुख जिल्ला अधिकारी रिमालले बताए।

विनाशकारी भूकम्पपछि रसुवाको लाङटाङ पूर्ण रुपमा तहसनहस भएको छ।

भूकम्प लगत्तैपछि त्यहाँ पुगेका एकजना बीबीसीका संवाददाताले लाङटाङमा एउटा मात्र सग्लो घर आफूले देखेको बताएका थिए।

नेपाली सेनाले हिमपहिरोका कारण लाङटाङमा ३० फिटसम्मको माटो ढिस्को बनेको र त्यहाँ पुरिएका शव उत्खन्नमा कठिनाइ भइरहेको बताउँदै आएको छ।