ग्रीसका ऋणदाताहरु सामु नयां प्रस्ताव

प्रधानमन्त्री सिप्रासकै कार्यालयमा भने विवाद र कडा असन्तोष छाएका विवरणहरु आउन थालेका छन्।
तस्बिरको क्याप्शन, प्रधानमन्त्री सिप्रासकै कार्यालयमा भने विवाद र कडा असन्तोष छाएका विवरणहरु आउन थालेका छन्।
Published

ग्रीसका प्रधानमन्त्री एलेक्सीस सिप्रासले आफ्ना देशका ऋणदाताहरुका सामु नयां छुटहरु सहितको प्रस्ताव गरेका छन्।

नयां संशोधित प्रस्ताव, ग्रीक प्रधानमन्त्रीले ऋणदाताहरुलाई लेखेका पत्र मार्फत अघि सारिएको हो।

तर जर्मन चान्सलर एंगेला मर्केलले संसदमा बोल्दै आउंदो आइतबार ग्रीसमा जनमत संग्रह हुनु अघिसम्म कुनै प्रकारको वार्ता नहुने बताएकी छिन्।

अस्वीकार

ग्रीसका प्रधानमन्त्री एलेक्सीस सिप्रासले लेखेका पत्रमा, ऋणदाताहरुसंगको वार्ता विफल हुनु र उनले अन्तर्राष्ट्रिय प्रस्तावमाथि जनमत संग्रह आह्वान गर्नु अघि प्रस्तुत भएका प्रस्तावका धेरैजस्तो शर्तहरु स्वीकार्न आफू तयार रहेको बताएका छन्।

मंगलबार युरोजोनका अर्थमन्त्रीहरुले ग्रीसलाई प्रदान गरिएको यसअघिको वित्तीय राहत सहायता कार्यक्रमको म्याद थप गर्न अस्वीकार गरेका थिए।

जर्मनीले आउंदो आइतबार ग्रीसमा हुने जनमत संग्रह अघि राहत सहायता बारे कुनै पनि नयां सहमति हुन नसक्ने बताएको छ।

एथेन्समा रहेका बीबीसीका संवाददाता ग्याभिन हेविट भन्छन्, "एकल युरोपेली मुद्रा युरो प्रचलनमा रहेको क्षेत्रका नेताहरुले आफूलाई प्रधानमन्त्रीको पदमा नरुचाएको ग्रीसका प्रधानमन्त्रीलाई पूर्ण रुपमा अवगत भएको हुनुपर्छ।"

अवसर

जब ग्रीसका प्रधानमन्त्रीले एकाएक जनमत संग्रहको घोषणा गरे उनका युरोपेली साझेदारहरुले पनि आक्रोशित भएर वार्ताहरु अन्त्य गरेका थिए।

र अब बर्लिन, मड्रिड र हेलसिन्कीमा रहेकाहरुले एकजना समस्याकारी नेताबाट छुटकारा पाउने अवसरको खोजी गरिरहेका हुनसक्छ।

त्यसैले पनि प्रधानमन्त्री सिप्रासले गत जुन २८ मा ऋणदाताहरुले प्रस्तुत गरेका प्रस्तावलाई सानोतिनो संशोधन सहित स्वीकार गर्ने भनि ब्रसल्सलाई पत्र लेखेको कुरा सार्वजनिक गरिएको हुनसक्छ।