टर्कीमा आत्मघाती बम हमला हुँदा २८ को मृत्यु

हमला भएको बेला करिब ३ सय युवाहरु कोबानीमा पुन: निर्माणमा सघाउनको लागि सिमा पार गरेर कोबानीमा जान खोजिरहेका थिए
तस्बिरको क्याप्शन, हमला भएको बेला करिब ३ सय युवाहरु कोबानीमा पुन: निर्माणमा सघाउनको लागि सिमा पार गरेर कोबानीमा जान खोजिरहेका थिए
Published

टर्कीको सिमावर्ती नगर सूरुचमा भएको सन्दिग्ध आत्मघाती बम हमलामा कम्तीमा २८ जनाको ज्यान जानुका साथै अन्य सयजना भन्दा बढी घाइते भएका छन्।

स्थानीय एक सांस्कृतिक केन्द्रको बगैंचामा विहानको समयमा उक्त विस्फोट भएको थियो।

त्यहां सिमापारीको सिरियाली नगर कोबानीमा पुन:निर्माण कार्यमा सघाउन आएका सयौं युवाहरु बसिरहेका थिए।

टर्कीका अधिकारीहरुले भनेका छन्, प्रारम्भीक प्रमाणहरुले उक्त बम हमलामा इस्लामिक स्टेट समूहको हात रहेको देखाएका छन्।

निन्दा

टर्कीका राष्ट्रपति रिचेप ताइप एर्डोआनले उक्त बम हमलाको निन्दा गरेका छन्।

समाजवादी युवा संगठनहरुको महासंघले सुरुचमा रहेको एक सांस्कृतिक केन्द्रमा, कोबानीको पुन: निर्माणमा सघाउन भनी आएका आफ्ना झण्डै तीन सयजना सदस्यहरु बसिरहेका बताएको छ।

विस्फोट लगत्तै उक्त महासंघले सामाजिक सञ्जालको वेबसाइटमा हिंसाग्रस्त घटनास्थलको फोटोहरु राखेको थियो।

टर्कीको आन्तरिक मामिला मन्त्रालयले जारी गरेको विज्ञप्तीमा, सबैलाई एकजुट भएर शान्त रहन र देशको एकताप्रति लक्षित आतंकवादी हमलाका सामु विचलित नहुन आग्रह गरिएको छ।

संघर्ष

बीबीसीका क्षेत्रीय विश्लेषक जीयार गोल भन्छन्, "सूरुचको सो अमारा सांस्कृतिक केन्द्रमा भएको हमला टर्कीमा वर्षौंपछि भएको मध्ये सबैभन्दा बढी रक्तपात पूर्ण घटना हो। स्थानीय कुर्द राजनीतिज्ञहरुले उक्त हमलाका लागि इस्लामिक स्टेट समूहलाई दोष दिएका छन्। यो वर्ष केहि अघि कोबानीमा भएको संघर्षमा आइएसले ठूलो क्षति व्यहोर्नु परेको थियो। कुर्दहरुको विश्वासमा उक्त उग्रवादी समूहले टर्कीमा रहेका गैरसैनिक कुर्दहरु विरुद्ध आफ्नो हारको बदला लिन खोजेको छ।"

सुरुचमा सिमापारीको सिरियाली नगर कोबानीमा आइएस उग्रवादी र कुर्द लडाकुहरुबीचको लडाईंबाट भागेर आएका थुप्रै शरणार्थीहरु बसोबास गर्ने गर्दछन्।

आइएसले गत वर्षको सेप्टेम्बर महिनामा कोबानीलाई कब्जामा लिएको थियो तर गत जेनुअरी महिनामा कुर्द सैन्यले त्यसलाई पुन: आफ्नो नियन्त्रणमा लिएका थिए।