'सिरियाली सेनामा जनशक्ति अभाव'

Published

‌सिरियाका राष्ट्रपति बशर अल असदले देशको सेनामा सैनिकहरुको कमी भएको बताएका छन्।

उनले सिरियामा जारी गृहयुद्धका क्रममा केहि महत्वपूर्ण क्षेत्रहरुलाई जोगाउन अन्य क्षेत्रको मोर्चा छाड्नु परेको पनि बताएका छन्।

सरकारी टेलिभिजन मार्फत गरिएको प्रत्यक्ष सम्बोधनमा सिरियाली राष्ट्रपति बशर अल असदले देशको सेनामा पर्याप्त जनशक्ती नरहेको स्वीकार गरेका हुन्।

उनले सैनिकहरुको अभावको कारणले गर्दा नै देशको सबैजसो भागलाई आफ्नो नियन्त्रणमा राख्‍न नसकिएको पनि बताएका छन्।

पहिचान

“हामीले देशका महत्वपूर्ण क्षेत्रहरुको पहिचान गर्नु पर्छ जस्लाई सशस्त्र सेनाले प्रतिरक्षा गरेर आफ्नो नियन्त्रणमा राख्‍न सकोस् र अन्य क्षेत्र जस्तै हातबाट उम्केर जानबाट रोक्न सकियोस्।

"त्यसका लागि सेना सक्षम छ र बढी परिश्रम पनि गर्नु पर्दैन।“, सिरियाली राष्ट्रपतिले भनेका छन्।

सिरियाली सेनाले केहि महत्वपूर्ण क्षेत्रमा मात्र प्रतिरक्षा गर्न आफ्नो ध्यान केन्द्रीत गरिरहेको भन्ने तथ्य केहि महिना देखि नै स्पष्ट थियो।

आफ्नो क्षमताले धान्न नसक्ने बाहिरी इलाकाहरुको सुरक्षामा सेनाले पूर्ण शक्ति लगाइरहेको थिएन।

रणनीति

बीबीसी सम्बाददाता जीम म्युर भन्छन्, अहिले राष्ट्रपति असदले सार्वजनिक रुपमा बोल्दै अबको चरणमा त्यो नै सेनाको रणनीति हुने खुलस्त गरेका छन्।

विद्रोही समूहहरुले बढ्दो रुपमा बाहिरी सहायता प्राप्त गरिरहेको अवस्थामा, समग्र देशको नै सुरक्षा गर्न सेनासंग आवश्यक जनशक्ति नहुंदा, सिरियाले आफ्नो लागि कुन कुन क्षेत्र अति आवश्यक रहेको छ भनेर पहिचान गर्नु पर्ने बेला आएको राष्ट्रपति असदको भनाई थियो।

विद्रोहीलाई समर्थन गर्ने बाहिरी शक्ति भनेर उनले साउदीहरु, टर्की र कतार तर्फ संकेत गरेका थिए।

शनिवार राष्ट्रपति असदले, सिरियामा रहेका तर सैनिक सेवामा नआएका र भगौडा सैनिकहरुलाई आममाफी दिने घोषणा गरेका थिए।

सेनाले यो महिना केहि अघि भर्ती अभियान चलाएको थियो।

युकेमा रहेको एउटा सिरियाली पर्यवेक्षक समूहले भनेको छ, सिरियामा दशौं हजार मानिसहरु सेनामा भर्ती हुन गएका छैनन्।