विष्फोटस्थल वरपरका बासिन्दालाई सारिंदै

तस्बिर स्रोत, AFP
चिनियाँ सुरक्षा फौजले उत्तरी शहर तियाञ्जिनको वन्दरगाह क्षेत्रको तीन किलोमिटर इलाका वरपरका वासिन्दाहरुलाई अन्यत्र सारिरहेको छ।
त्यहाँको एक गोदाममा बुधबार भएका ठूल्ठूला विष्फोटहरुका कारण सय भन्दा धेरैको ज्यान गएको चिनियाँ सञ्चार माध्यमहरुले जनाएका छन्।
राष्ट्रपति शी जिनपीङ्गले उक्त घटनाले औद्योगिक सुरक्षा को अवस्था सुधार्न तत्काल कारवाही थाल्नुपर्ने पाठ पढाएको बताएका छन्।
त्यहाँका बासिन्दाहरुलाई सुरक्षित रहन मास्क तथा लामा ट्राउजर लगाउन र अन्यत्र जान भनिएको छ।
विषालु रसायन
विष्फोटपश्चात उक्त क्षेत्रमा सोडियम साइनाइड जस्ता विषाक्त रसायनहरु हावामा फैलन थालेकोप्रति त्यहाँका अधिकारीहरु चिन्तित छन्।
बेइजींगस्थित सम्वाददाता जो फ्लोटो भन्छन्, “त्यो रसायन चीन तथा विश्वका अन्य देशका खनिज उद्योगमा प्रयोग गरिन्छ। सास फेर्दा वा स्पर्श गर्दा त्यो एकदमै खतरनाक हुन्छ जसले ज्यानै समेत लिन सक्छ। त्यसैले अधिकारीहरुले त्यहाँका बासिन्दालाई उक्त गोदाम भवन बाट थप एक किलोमिटर पर सार्न थालेका छन्।”
उक्त क्षेत्रमा हावाको प्रवाहको दिशामा परिवर्तन आएपछि अधिकारीहरुले त्यहाँका मानिसहरुलाई अन्यत्र सार्ने काम थालेका हुन्।
विभिन्न रसायनहरु रहेको ठानिएको उक्त गोदामघरमा खास के कस्तो वस्तु थियो भनेर स्पष्ट पारिएको थिएन। तर अहिले प्रहरीले सोडियम साइनाइड नामक रसायन विष्फोट स्थलको केही पूर्व पाइएको जनाएको त्यहाँको एक राज्यद्वारा सञ्चालित बेइजींग न्यूजले जनाएको छ।
सो ठाउँमा रसायनिक हतियारसंग लड्ने सैन्य दस्ता पठाइएको छ। पिपल्स डेली अखबारले तिनलाई विषालु रसायनहरुको नियन्त्रण गर्न खटाइएको भनी ट्वीट गरेको छ।
यसअघि अधिकारीहरुले सो विष्फोट स्थलमा क्याल्सियम कार्बाइड, पोटासियम नाइट्रेट तथा सोडियम नाइट्रेट मात्र पाइएको बताएका थिए। क्याल्सियम कार्बाइड नामक रसायन पानीसंग मिसिंदा निकै विष्फोटक हुने एसिटाइलीन नामक पदार्थ बन्छ।
अधिकारीहरुले हालसम्म पानी र हावा सुरक्षित गुणस्तरमै रहेको बताइरहेका छन्।
थप विष्फोट
बुधबारको विष्फोट पश्चात लागेको आगो शनिबारसम्म पनि केही ठाउँमा बलिरहेको थियो। शनिबार त्यहाँ जलेका केही कारहरु पुन: विष्फोट भएको सिन्ह्वाले जनाएको छ।
हालसम्म विष्फोटहरुका कारण घाईते हुनेको संख्या सात सय भन्दा धेरै छ।
अझै केही हराइरहेका छन्।
हराइरहेका मानिसहरुका आफन्तले शनिबार अधिकारीहरुले आयोजना गरेको पत्रकार सम्मेलनमा हस्तक्षेप गरेर आफ्ना मानिसको अवस्था बारे सोधपूछ गरेका थिए।
ती मध्ये एकजनाले आफु उक्त इलाकाको सबै अस्पतालमा पुगेपनि आफन्त नभेटिएको र कुनैपनि सरकारी अधिकारीले आफुहरुसंग भेट्न नचाहेको बताएको रोयटर्स समाचार एजेन्सीले उल्लेख गरेको छ।





















