ग्रीसमा नयाँ सरकार गठनको प्रयास

तस्बिर स्रोत, Reuters
ग्रीसका एकजना विपक्षी नेताले भनेका छन्, उनले देशमा पुन: निर्वाचनको अवस्था आउन नदिन नयां गठबन्धन सरकार बनाउने प्रयास गर्नेछन्।
न्यू डेमोक्रेसी पार्टीका नेता भान्गेलिस मेइमराकिस, वामपन्थी प्रधानमन्त्री एलेक्सिस सिप्रासको राजीनामा पछि, आफूलाई ग्रीसका राष्ट्रपतिले नयां गठबन्धन सरकार बनाउने प्रयासका निम्ति तीन दिनको समय दिएपछि बोल्दै थिए।
राजनीतिक पुरातनवादी ठानिने न्यू डिमोक्रेसी पार्टीका प्रमुखले शुक्रबार बिहान ग्रीक राष्ट्रपतिसंग भेट गरेका थिए।
पर्यवेक्षकहरु भन्छन्, उनीसंग नयां सरकार गठन गर्न आवश्यक समर्थन छैन, त्यसैले नयां निर्वाचन हुने नै ठानिएको छ।
अनुमान
६ वर्षमा पाँचौं पटक हुन लागेको निर्वाचनको सम्भावित मिति सेप्टेम्बर २० तारिख हुनसक्ने अनुमान भइरहेको छ।
नयां सम्भावित गठबन्धन साझेदार हुनसक्ने ठानिएको एउटा पार्टीले आफू निर्वाचनको पक्षमा रहेको बताएको छ।
सो पार्टीका अनुसार एलेक्सीस सिप्रासको नेतृत्व विना कुनै पनि सरकारले वास्तविक स्वरुप लिन सक्दैन।
शुक्रबार नै एलेक्सीस सिप्रास नेतृत्वको सिरिजा पार्टीबाट करीब तीसजना सांसदले सो पार्टी परित्याग गरी नयां दल गठन गरेका थिए।
उक्त नयां पार्टीको नेतृत्व भूतपूर्व उर्जामन्त्री पान्नायोटिस लाफाजानीसले गर्ने छन्, जो एलेक्सीस सिप्रासको मितव्ययिता सम्बन्धी उपायहरुका आलोचक थिए।
अवसर
विश्लेषकहरु भन्छन्, मेइमराकिसले सरकार बनाउन नसकेमा सो नयां पार्टीलाई सरकार गठन गर्ने अवसर दिइने छ र त्यसपछि चरम दक्षिणपन्थी गोल्डन डन अर्थात सुनौलो बिहानी पार्टीले अवसर पाउने छ।
तर तिनीहरुले पनि सरकार बनाउनका लागि पर्याप्त साझेदार पाउने सम्भावना छैन।
सबै पार्टीहरुले सरकार गठनबारे छलफल गर्ने अधिकार परित्याग गर्न सक्नेछन् जसबाट राष्ट्रपतिलाई नयाँ निर्वाचन घोषणा गर्न सहज हुन जानेछ।
तर मेइमराकीसले आफूलाई राष्ट्रपतिबाट प्राप्त म्यान्डेटको आधारमा आगामी केही दिन भित्रै नयां सरकार बनाउने प्रयास गर्ने बताएका छन्।
यसैबीच जर्मनीले ग्रीसको नयां सरकारको नेतृत्व जसले गरेपनि सो देशले पछिल्लो वित्तीय राहत सहायता अन्तर्गत सहमति भएका सुधारका विषयलाई कार्यान्वयन गरेको हेर्न चाहेको बताएको छ।





















