सबैलाई समेट्न मोदीको आग्रह

गृहमन्त्रीको अभिव्यक्तिबारे भारतीय राजदूतले असन्तुष्टी व्यक्त गरेका छन्
तस्बिरको क्याप्शन, गृहमन्त्रीको अभिव्यक्तिबारे भारतीय राजदूतले असन्तुष्टी व्यक्त गरेका छन्
Published

प्रस्तावित संघीय खाकाको विरोधमा तराईका विभिन्न भागमा प्रदर्शन चर्कदैँ गइरहँदा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार प्रधानमन्त्री सुशील कोइरालालाई टेलिफोन गरी सबै पक्षको भावना समेट्ने गरी संविधानका विवादित विषय टुंग्याउन पुन: आग्रह गरेका छन्।

संविधानसभाबाट अधिकतम सहमतिका आधारमा संविधान ल्याउने कोशिस भइरहेको प्रमुख दलहरुले बताइरहँदा मोदीको पछिल्लो भनाई आएको हो।

उक्त कुराकानीमा प्रधानमन्त्री कोइरालाले विभिन्न स्थानमा भइरहेका विरोधको राजनीतिक ढंगले सम्बोधन गर्ने बताएका थिए।

मंगलबार काठमाण्डूस्थित भारतीय राजदूतावासले तराईका कतिपय जिल्लामा दक्षिणबाट प्रदर्शनकारीहरु सदरमुकामतर्फ आइरहेको भन्ने खबर प्राप्त भएको भन्ने गृहमन्त्री बामदेव गौतमको अभिव्यक्ति प्रति सार्वजनिक रुपमा असन्तुष्टी जनाएको छ।

सहमति

प्रदेशको सीमांकन प्रति असन्तुष्टी जनाउँदै कैलालीको टिकापुरमा भएको प्रदर्शनमा सात सुरक्षाकर्मी र एकजना दुई वर्षे बालक मारिएको भोलिपल्ट भारतीय प्रधानमन्त्री मोदीले कोइरालालाई टेलिफोन गरी पछिल्ला हिंसाले केही महिना अघिको भूइँचालोको विपदमा थप दुख थपेको भन्दै सान्त्वना दिए।

त्योसँगै उनले असन्तुष्ट पक्षलाई मनाउन नसकिरहेका प्रधानमन्त्री कोइरालालाई सहमतीकै आधारमा संविधान ल्याउन ध्यानाकर्षण पनि गराए।

भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भावी संविधानमा विविधितायुक्त समाजका सबै नागरिकको भावना प्रतिविम्वित हुनुपर्नेमा मोदीको जोड रहेको उल्लेख छ।

प्रधानमन्त्रीका प्रेस सल्लाहाकार प्रतिक प्रधानले दुई नेताबीचको कुराकानीलाई नियमित भन्दै संविधान लेखन लगायत विभिन्न विषयमा छलफल भएको जानकारी दिए।

उनले भने, “अहिलेको जुन छिटफूट समस्याहरु छन्, त्यसको राजनीतिक समाधान नै गर्ने हो भन्ने नेपालका दलहरुले पनि भनिरहेकै कुरा हो, उहाँहरु बीच पनि त्यसबारे छलफल भयो।”

प्रधानमन्त्री कार्यालयका अनुसार कोइरालाले मोदीसँगको कुराकानीमा संविधानसभामा जारी प्रक्रियाको 'मान र पवित्रता'मा भारतको सहयोग खोजेका थिए।

असन्तुष्टी

दुई प्रधानमन्त्रीको तहमा वार्ता भएकै दिन मंगलबार काठमाण्डूस्थित भारतीय राजदुत रन्जीत राय र गृहमन्त्री बामदेव गौतमबीच तराईका जिल्लामा भइरहेका हिंसात्मक प्रदर्शनबारे कुराकानी भएको छ।

बुधवार संसदमा बोल्दै गृहमन्त्री गौतमले रौतहटको सदरमुकाम गौर तर्फ दक्षिणबाट कैयौँ आन्दोलनकारी आइरहेको खबर प्राप्त भएको बताएका थिए।

सो अभिव्यक्तिबारे भारतीय राजदूतले गौतमसँगको भेटमा असन्तुष्टी जनाएको भारतीय दूतावासले जनाएको छ।

दूतावासका प्रथम सचिव एवं प्रवक्ता अभय कुमारले भने, “यो र यस्तै अवास्तविक मन्तब्यहरुले असमझदारी श्रृजना गरी हाम्रा दुई देशबीच विद्यमान हार्दिक एवं मैत्री सम्बन्धमा दरार उत्पन्न गर्नसक्ने सम्बन्धमा हाम्रा राजदूतले राजदूतावसको चिन्ता प्रकट गर्नुभएको छ।”

सीमा क्षेत्रमा हुने असामान्य हिँडडुलबारे नेपाली अधिकारीहरुले सम्पर्क गरे त्यसबारे स्पष्टीकरण दिन आफू तयार रहेको भन्दै भारतीय दुतावासले त्यसबारे नेपाली पक्षबाट हालसम्म कुनै सोधपुछ नभएको जनाएको छ।

दुई प्रधानमन्त्रीबीच मंगलबार भएको टेलिफोन कुराकानीका क्रममा पनि सो विषयमा छलफल भएको छनक दिने गरी भारतीय विदेश मन्त्रालयले नेपालको सुरक्षाका लागि भारतले हरसम्भव सहयोग गर्ने प्रतिवद्धता जनाएको उल्लेख गरेको छ।