संशोधन प्रस्तावमा छलफल र मतदान थालिने

संशोधन प्रस्ताव दर्तापछि त्यसमाथि छलफल र मतदान गराइने प्रावधान छ
तस्बिरको क्याप्शन, संशोधन प्रस्ताव दर्तापछि त्यसमाथि छलफल र मतदान गराइने प्रावधान छ
Published

संविधानसभामा प्रस्तुत नयाँ संविधानको विधेयकमा संशोधन प्रस्ताव दर्ता गर्ने म्याद सकिने अन्तिम दिन आज चार प्रमुख दल साझा संशोधन प्रस्तावमा सहमति जुटाउने अन्तिम कसरतमा लागेका छन्।

विगतमा गरेको सहमतिमा टेकेर संविधानको मस्यौदा तयार गरेका उनीहरुले धेरैभन्दा धेरै विषयलाई साझा संशोधनको रुप दिने प्रयासमा जुटेका हुन्।

संशोधनको म्याद सकिनु अघिल्लो दिन हिजोसम्म १६ वटा संशोधन प्रस्ताव दर्ता भएको अधिकारीहरुले बताएका छन्।

थारीथरी

संविधानसभा सचिवालयका अनुसार दलगत र व्यक्तिगत रुपमा ती संशोधन प्रस्ताव दर्ता भएका हुन्।

सचिवालयका प्रवक्ता भरतराज गौतमले दर्ता भएका संशोधन प्रस्तावको प्रकृति सम्बन्धित राजनीतिक दल र सभासद्ले यसअघि नै सार्वजनिक रुपमा राख्दै आएका मागहरु जस्तै भएको बताए।

उनले भने, "सीमांकनमा हेरफेरको माग र धर्म निरपेक्षता तथा संघीयता विरुद्ध पनि संशोधन प्रस्तावहरु दर्ता भएका छन्।"

नेपाली कांग्रेस, नेकपा एमाले, एकीकृत नेकपा माओवादी र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले साझ संशोधन प्रस्तावको खाका टुंग्याइसकेका छैनन्।

प्रक्रिया

सामूहिक रुपमा संशोधन दर्ता गर्ने तयारीमा रहेको भनिएका उनीहरुले त्यसको निम्ति दिउँसोसम्म प्रयास गर्ने छन्।

एकीकृत माओवादीका प्रमुख सचेतक गिरिराजमणि पोख्रेलले भने, "संविधान निर्माणका लागि १६ बुँदे सहमति गरेकाहरुको साझा प्रस्ताव र हाम्रो पार्टीको छुट्टै प्रस्ताव पनि रहनेछ।"

प्रमुख दलहरु भदौ महिनाभित्रै संविधान जारी गर्ने लक्ष्य लिएका छन्।

संशोधन प्रस्तावहरु दर्ता भएपछि त्यसमाथिको छलफल र मतदानको प्रक्रियालाई तीव्रता दिन बाटो खुल्ने संविधानसभा सचिवालयका अधिकारीहरुले बताएका छन्।