आप्रवाससम्बन्धी आपतकालीन नीति हटाउने योजना

केही दिनयता १२ हजारभन्दा बढी आप्रवासीहरुलाई शरण दिइएको अष्ट्रिया, जर्मनी र हंगेरीले बताएका छन्
तस्बिरको क्याप्शन, केही दिनयता १२ हजारभन्दा बढी आप्रवासीहरुलाई शरण दिइएको अष्ट्रिया, जर्मनी र हंगेरीले बताएका छन्
Published

जर्मनी, अष्ट्रिया र हंगेरीले आप्रवाससम्बन्धी आपतकालीन मापदण्ड क्रमशः हटाउँदै जाने योजना रहेको अष्ट्रियाका चान्सलरले बताएका छन्।

आपतकालीन नीतिका कारण हजारौं आप्रवासीहरुले हंगेरीबाट पश्चिमी युरोपसम्म स्वतन्त्र रुपमा हिँड्डुल गर्न पाएका छन्।

आप्रवाससम्बन्धी आपतकालीन मापदण्ड हटाउँदै जाने विषयमा जर्मन चान्सलर एंगेला मर्केल, उनका अष्ट्रियाली समकक्षी भेरन्ह फाइमान र हंगेरीका प्रधानमन्त्री भिक्टोर ओर्बानबीच छलफल भएको हो।

खुकुलो

फाइमानले क्रमिक रुपमा आपतकालीन नीति हटाउँदै जाने बताए।

आप्रवाससम्बन्धी नीतिलाई खुकुलो पारिएपछि सप्ताहन्तमा हजारौं आप्रवासीहरु हंगेरीबाट अष्ट्रिया र जर्मनी जान पाएका छन्।

जर्मनीले आप्रवासीसम्बन्धी समस्यामा सघाउने आफ्नो चाहनालाई ‘बोझ बनाउन नहुने’ चेतावनी दिएको छ।

अधिकांश आप्रवासीहरु जर्मनीतर्फ गइरहेका छन्।

जर्मनीको आन्तरिक मामिलासम्बन्धी मन्त्रीले आप्रवासीहरुलाई प्रवेश दिने विषयमा केही दिनयता गरिएका निर्णयहरु अपवाद भएको बताए।

व्यवस्थापन

युरोपियन युनियनका सदस्य मुलुकहरुबीच तीव्र मतभेद रहेका बेला शरणार्थीसम्बन्धी राष्ट्रसंघीय निकायका प्रमुख अन्टोनयू गुटेरेसले सदस्य राष्ट्रहरु संयुक्त योजनामा सहमत भए ‘संकटको व्यवस्थापन’ गर्न सकिने बताए।

अष्ट्रियाली चान्सलर फाइमानले आफ्ना जर्मन समकक्षी मर्केल र हंगेरीका प्रधानमन्त्री ओर्बानसँग आईतबार टेलिफोन वार्ता गरेपछि आफ्नो वक्तव्य जारी गरेका हुन।

उनले भने, “हामीले सधैं भन्ने गरेका छौँ कि यो आपतकालीन अवस्था हो जसमा हामीले छिटो र मानवीय ढंगमा काम गर्नुपर्ने हुन्छ, अब आपतकालीन नीतिलाई क्रमिक रुपमा सामान्यतर्फ लैजानुपर्छ।”

केही दिनयता १२ हजारभन्दा बढी आप्रवासीहरुलाई शरण दिइएको अष्ट्रिया, जर्मनी र हंगेरीले बताएका छन्।