डेनमार्कद्वारा जर्मनीसँगको रेल सेवा स्थगित

तस्बिर स्रोत, Reuters
जर्मनीसँगको नाकामा सयौं आप्रवासीहरु डेनमार्क प्रहरीले रोकेपछि जर्मनीसँग जोडिएका डेनमार्कका रेल सेवाहरु बन्द गरिएको छ।
रेलबाट ओराल्न लगाइएपछि केही शरणार्थीहरु पैदल उत्तरतर्फ जान खोज्दा डेनमार्कको प्रहरीले जर्मनीसँगको मुख्य राजमार्ग पनि बन्द गरिदिएको छ।
नाकामा रोकिएका आप्रवासीले आफूहरुको गन्तव्य स्वीडेन भएको बताएका छन्।
युरोपियन कमिसनले युरोपियन युनियनका सदस्य राष्ट्रहरुबीच एक लाख २० हजार आप्रवासीहरुलाई अनिवार्य कोटा प्रणालीअन्तर्गत बाँडफाँड गर्न प्रस्ताव गरेको छ।
अनिश्चितकाल
ठूलो आप्रवासी समस्यासँग इयु जुझिरहेका बेला युरोपियन कमिसनले पछिल्लो प्रस्ताव ल्याएको हो।
डेनमार्कको रेल सञ्चालक डीएसबीले भनेको छ, गम्भीर रुपमा पासपोर्ट जाँच गर्नुपर्ने भएकोले जर्मनी जाने र त्यहाँबाट डेनमार्क आउने रेल सेवा अनिश्चितकालका लागि स्थगित गरिएको छ।
दुई सयभन्दा बढी आप्रवासीहरु सवार दुईवटा रेल डेनमार्कलाई जर्मनीसँग डुङ्गामार्फत जोड्ने एउटा महत्वपूर्ण बन्दगाह रोड्बीमा रोकिएका छन्।
डेनमार्कको प्रहरीले भनेको छ, धेरै आप्रवासीहरु रेलबाट ओर्लिन अस्वीकार गरेका छन् किनकि उनीहरुले डेनमार्कमा दर्ता हुन चाहेका छैनन्।
गन्तव्य
जर्मनी र डेनमार्कलाई मोटरबाटोले जोड्ने महत्वपूर्ण राजमार्ग E 45 को हिस्सा पनि डेनिश प्रहरीले बन्द गरिदिएको छ।
अर्को रेलबाट ओर्लिएका करिब तीनसय आप्रवासीहरु पैदल हिँडेर स्वीडेनतर्फ जान खोजेपछि प्रहरीले उक्त राजमार्ग बन्द गरेको जनाएको छ।
शरण लिन खोजेका सबै सिरियाली शरणार्थीहरुलाई आवासीय कागजात उपलब्ध गराउने वाचा गरेपछि शरणार्थीहरुका निम्ति स्वीडेन अहिले उच्च गन्तव्यमा परेको छ।
डेनमार्कको नयाँ सरकारले भने आप्रवासी मामिलामा कडाई गर्ने वाचा गरेको छ।





















