के साउदी कूटनीतिज्ञमाथि कारबाही होला?

गुँडगाव प्रहरीले उक्त मुद्दामाथी अनुसन्धान गरिरहेको छ
तस्बिरको क्याप्शन, गुँडगाव प्रहरीले उक्त मुद्दामाथी अनुसन्धान गरिरहेको छ
Published

भारतको राजधानी दिल्लीमा दुई नेपाली महिलामाथि भएको भनिएको बलात्कार र यातनाबारे त्यहाँको प्रहरीले आरोपी साउदी अधिकारीलाई सोधपुछ गर्न खोजेपनि सम्भव नहुँदा अनुसन्धान प्रभावित हुने देखिन्छ।

कूटनीतिक अधिकारी संलग्न भएका कारण सबैको चासो भारतीय विदेश मन्त्रालयतर्फ सबैको ध्यान केन्द्रित छ।

नेपाली र साउदी कूटनीतिक दबाबको सामना गरिरहेको भारत सरकारले अब के गर्ला भन्नेबारे त्यहाँका संचारमाध्यमहरुले अनेकौं अडकलबाजी गरिरहेका छन्।

नेपाललाई परम्परागत मित्र एवं निकट छिमेकी मान्ने भारतको साउदी अरेबियासँग गहिरो आर्थिक र सामरिक स्वार्थ छ।

महत्व

कूटनीतिक अधिकारीको संग्लनता देखिएका कारण ५० वर्षिया र ३० वर्षिया नेपाली महिलामाथि भएको भनिएको चरम अत्याचारका विवरणलाई दिल्लीका प्रमुख संचारमध्यमले निकै महत्व दिइरहेका छन्।

उनीहरुको स्वास्थ्य अवस्थाबारेको दोश्रो प्रतिवेदनमा पनि उनीहरुको शरीरमा गम्भीर प्रकृतिका चोट रहेको देखिएको दिल्लीका प्राय: सबै प्रमुख पत्रपत्रिकाले लेखेका छन्।

निकै गम्भीर अपराधको आरोप लागेका साउदी अधिकारीसंग प्रहरीले सोधपुछ गर्न खोजेपनि उनको अवस्थितिबारे फरक फरक विवरण संचारमध्यममा आइरहेका छन्।

अधिकारीहरुलाई उद्धृत गर्दै कोही भन्छन्, उनले भारत छोडिसके। अरु भन्छन्, होइन, उनी दिल्लीस्थित साउदी राजदूतावासमै छन् जहाँ प्रहरी प्रवेश गरेर उनलाई पक्रन मिल्दैन।

सन् १९६१ को दौत्य सम्बन्धबारेको भियना महासन्धि र सन् १९६३ को कन्सुलर सम्बन्ध बारेको अर्को महासन्धि अनुसार आफ्नो कार्यक्षेत्रमा खटिएका कूटनीतिक अधिकारीलाई पक्राउ गर्न मिल्दैन।

कारबाही

तर उनलाई दुई किसिमले कारबाही गर्न सकिने चर्चा भारतीय संचारमाध्यममा भएका छन्।

पहिलो, आरोपित अधिकारीलाई दिइएको कूटनीतिक हैसियत साउदी सरकारले फिर्ता लिन सक्छ। दोस्रो, भारत सरकारले उनलाई पर्सोना नन ग्राटा अर्थात् कूटनीतिक रुपमा अस्वीकार्य व्यक्ति घोषणा गर्न सक्छ।

भारतीय संचारमाध्यमका प्रमुख विदेश मामिला टिप्पणीकारहरु लेख्छन्, दुवै सम्भावना क्षीण छ किनभने भारत खाडीको एक प्रमुख मित्र एवम् तेल निर्यातकर्तालाई चिढ्याउन चाहंदैन।

उनीहरुका अनुसार दिल्ली आफ्नो प्राचीन र गहिरो सम्बन्ध भएको मित्र नेपाललाई पनि रुष्ट बनाउन चाहंदैन।

साउदी अरेबियामा करिब ३० लाख भारतीय नागरिक कार्यरत रहेको बताइन्छ।

अहिले दिल्लीमा साउदी कूटनीतिक अधिकारी र उनको परिवारजनविरुद्ध गम्भीर प्रकृतिको अपराधको आरोपमा अनुसन्धान गरिरहेको प्रहरी तीन देश मुछिएको कूटनीतिक भुमरीमा अड्किएको दिल्लीबाट बीबीसी सम्वाददाता सुरेन्द्र फुयालले जनाएका छन्।

जीविकोपार्जनको दह्रो स्रोतका लागि विदेशिन वाध्य विपन्न नेपाली महिलालाई न्याय दिलाउन दिल्ली, रियाध र काठमाण्डूले के भूमिका खेल्लान् भन्ने विषय यतिखेर दिल्लीमा धेरैले कौतुहलतापूर्वक हेरिरहेका छन्।

यी र यस्तै प्रश्नमाझ आरोपित साउदी अधिकारीविरुद्ध मुद्दा अघि बढ्ला कि बीचमै तुहिएला, त्यसको उत्तर भने सहज देखिदैंन।