अर्थतन्त्रमाथि अवरोधको 'घातक' असर

तस्बिर स्रोत, ram sarraff
वर्षौंको अस्थिरता अनि भूकम्पका धक्काले थिलथिलो बनेको नेपाली अर्थतन्त्रलाई अहिलेको तराई बन्द र सीमा नाका अवरोधले घातक असर पारिरहेको व्यवसायीहरुले जनाएका छन्।
गएको पचासभन्दा बढी दिनको बन्द र झण्डै दुईसाताको नाका अवरोधका कारण एक खर्ब रुपियाँभन्दा धेरैको प्रत्यक्ष नोक्सानी भइसकेको उनीहरुको भनाई छ।
बिलौना
लगातारको बन्द हडताल अनि आवतजावतनै ठप्प हुन थालेपछि निसास्सिएका उद्योगी व्यापारीहरुको समूहले मंगलबार प्रधानमन्त्री सुशील कोइरालालाई भेटेर बिलौना गरेका थिए।
उनीहरुले प्रधानमन्त्रीसमक्ष स्थिति चाँडै सहज बनाइदिन आग्रह गरे।
निरन्तर भइरहेको क्षतिको हिसाबै राख्न नसकिएपछि प्रधानमन्त्रीसमक्ष जानु परेको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरार्काले बताए।
“एक दिनको बन्दले करीब दुई अर्ब रुपियाँको नोक्सानी भइरहेको छ। यो हिसाबले ५५/५६ दिनको बन्दको क्षति ११० अर्ब रुपियाँ पुगिसकेको छ। त्यसबाहेक यसका अन्य असर भनेको अब नयाँ लगानी गर्ने सोच मरेर गइरहेको छ,” मुरार्काले भने।
भयावह
यतिबेला देखिएको समस्या नेपाली अर्थतन्त्रले विगतका कुनैपनि कालखण्डमा नबेहोरेको अर्का व्यवसायी तथा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले बताए।
“हामीले द्वन्द्वपनि हेर्यौं अनि भूकम्पपनि हेर्यौं। तर सबभन्दा भयावह स्थिति अहिले देखापरेको छ। यातायात ढुवानी सबै ठप्प छ। यस्तै हो भने बजार सबै बन्द हुन्छन्,” श्रेष्ठले जनाए।
नाका अवरोधका कारण हजारौं मालबाहक ट्रकहरु लामो समयदेखि अड्किएका अनि तिनमा भएका कैयौं सामान कुहिसकेको मुरार्काले बताए। कतिपय अवस्थामा सामानको मूल्यभन्दा विलम्ब शुल्क बढी हुन थालिसकेको पीर व्यवसायीहरुको परेको छ।
अवस्था छिट्टै नसुध्रिए यसपालीको चाडबाड खल्लो हुने उनीहरुको भनाई छ।






















