हवाई क्षेत्र उल्लंघनप्रति टर्कीको विरोध

तस्बिर स्रोत, AP
दोस्रो पटक रुसी लडाकु विमान आइतबार आफ्नो हवाई क्षेत्रमा प्रवेश गरेको भन्दै टर्कीले विरोध जनाउन रुसी राजदूतलाई पुनः बोलाएको छ।
रुसले खराब मौसमका कारण केही सेकेण्डको लागि आफ्नो लडाकु विमान टर्कीको हवाई क्षेत्रमा प्रवेश गर्न पुगेको बताएको छ।
अंकारास्थित टर्कीको विदेश मन्त्रालयले घटनाप्रति “सशक्त विरोध” जनाउनका लागि रुसी राजदूतलाई बोलाइएको बताएको छ।
टर्कीले सीमा क्षेत्रमा गस्तीमा रहेका आफ्ना लडाकु विमानलाई अपरिचित विमानद्वारा समस्यामा पारिएको पनि बताएको छ।
चेतावनी
टर्कीसहित उत्तर एटलान्टिक सन्धि संगठन नेटोका २८ वटा सदस्य राष्ट्रले विज्ञप्ति जारी गर्दै त्यस्ता “गैरजिम्मेवार व्यवहार खतरनाक” हुन सक्ने चेतावनी दिएका छन्।
उनीहरुले त्यस्तो कार्य अन्त्य गर्न आग्रह समेत गरेका छन्।
अमेरिकी विदेशमन्त्री जन केरीले आफ्नो हवाई क्षेत्रमा अनधिकृत रुपमा प्रवेश गरेका लडाकु विमानलाई खसाल्ने टर्कीको अधिकार भएको बताएका छन्।
टर्किश टेलिभिजनलाई प्रधानमन्त्री अहमेत दावूतव्लुले भने, “टर्कीको सुरक्षा फौजलाई स्पष्ट रुपमा निर्देशन दिइएको छ कि चरा पनि उडिरहेको पाइयो भने तिनीहरुलाई रोक्नुपर्छ।”
निशाना
यद्यपि टर्की-रुस सम्बन्धमा संकट निम्तिने संभावना अस्वीकार गर्दै उनले दुई मुलुकबीच संवादका माध्यमहरु खुला रहेको बताए।
इस्लामिक स्टेट र अन्य इस्लामवादी लडाकु समूहविरुद्ध भन्दै बुधबारदेखि मस्कोले सिरियामा हवाई आक्रमण गर्दै आएको छ।
सिरियाली सरकारले हवाई आक्रमण गर्ने योजना केही महिना पहिलेदेखि बनाइएको सोमबार बताएको थियो।
रुसले सिरियामा लडाकु समूहविरुद्ध आफ्नो आक्रमण भएको दाबी गरेपनि अमेरिका र उसका अन्य साझेदार मुलुकहरुले बशर अल असादका विपक्षीहरुलाई निशाना बनाइएको बताएका छन्।





















