जनवरीदेखि मर्मतका लागि भक्सवागन फिर्ता

अमेरिकामा प्रदुषण काण्डमा परेको भक्सवागनको मोडल मर्मतका लागि फिर्ता लगिने भएको छ
तस्बिरको क्याप्शन, अमेरिकामा प्रदुषण काण्डमा परेको भक्सवागनको मोडल मर्मतका लागि फिर्ता लगिने भएको छ
Published

जर्मन विशाल कार कम्पनी भक्सवागनका नयाँ कार्यकारी प्रमुख म्याथियास म्युलरले प्रदुषण जाँच काण्डबाट प्रभावित गाडीहरुलाई आउँदो वर्षको शुरुतिर मर्मतको निम्ति फिर्ता ल्याइने बताएका छन्।

एक जर्मन पत्रिकासँगको अन्तरवार्तामा म्युलरले भने- प्रदुषण जाँचका कारण प्रभावित १ करोड १० लाख डिजल कार र भ्यान मध्ये अधिकांशमा सफ्टवेयर अद्यावधिक गर्नु पर्छ।

कतिपय कार र भ्यानका इन्जिनमा नयाँ इन्जेक्टर र क्याटलिटिक कन्भर्टर जडान गर्नु पर्ने हुनसक्ने उनले बताए।

त्यसअघि म्युलरले भक्सवागनको वुल्फ्सवर्गस्थित कार्यालयमा कर्मचारीहरुलाई भने "संस्था परिवर्तनसँग जुझिरहेको छ जुन सजिलो हुनेछैन।"

नयाँ लगानी

उनले भने- अति आवश्यक नभएका सबैखाले लगानीहरु अब या गरिनेछैन या ढिलो गरिनेछ।

प्राविधिक समाधान पत्ता लागिसकेको र कर्मचारीको जागिर सुरक्षित पार्न संस्था लागिपर्ने उनले बताए।

कार उत्पादन क्षेत्र, प्रविधि र सवारी साधन सबैको भावी लगानीमा अब 'निगरानी गरिनेछ।'

उनले थपे-'भविष्यमा भक्सवागन भनेको 'राम्रो' भन्ने निश्चित गर्न र सुरक्षित रोजगारी निश्चित गर्न हामी हरतरहले प्रयत्न गर्ने छौं ।'

अमेरिकामा भएको प्रदुषण परिक्षणमा धोका दिएको स्वीकारेपछि जर्मन कार निर्माता भक्सवागन प्रदुषण काण्डमा परेको छ।