ट्युनिसियाली समूहलाई नोबेल शान्ति पुरस्कार

तस्बिर स्रोत, The Nobel Foundation
यसवर्षको नोबेल शान्ति पुरस्कार ट्युनिसियाका विभिन्न चार संगठनहरुको समूहलाई प्रदान गर्ने घोषणा गरिएको छ।
'ट्युनियसियन न्याशनल डायलग क्वार्टेट' नामक समूहले सन् २०११ को क्रान्तिपछि उक्त मुलुकलाई बहुलवादसहितको लोकतान्त्रिक मुलुकमा रुपान्तरण गर्न निर्णायक योगदान दिएको नोबेल कमिटीले जनाएको छ।
उक्त प्रतिष्ठित पुरस्कारका लागि २ सय ७३ प्रतिस्पर्धी थिए।
जर्मन चान्सलर एंगेला मर्केल र पोप फ्रान्सिस पनि पुरस्कारको दौडमा अग्रपंक्तिमा रहेको ठानिएको थियो।
संगठन
टुनियसियन नेशनल डायलग क्वार्टेट ट्युनिसियाको श्रम संगठन, उद्योग वाणिज्य तथा हस्तकला संघ, मानवअधिकारकर्मी र वकीलहरुको संगठन हो।
राजनीतिक हत्या तथा व्यापक सामाजिक अस्थिरताका कारण लोकतान्त्रिक प्रक्रिया धरापमा पर्न लागेका बेला उक्त समूह सन् २०१३ मा गठन गरिएको नोबेल कमिटीकी अध्यक्ष काशी कुलम्यान फिभले बताइन्।
उनले भनिन् ,“मुलुक गृहयुद्धको संघारमा पुग्दै गर्दा यो समूहले एउटा वैकल्पिक, शान्तिपूर्ण राजनीतिक प्रक्रिया स्थापना ग-यो”।
“सो समूहले केही वर्षकै अन्तरालमा राजनीतिक झुकाव, धार्मिक आस्था वा लिंगका आधारमा भेदभाव नगरी सबैलाई आधारभूत अधिकार सुनिश्चित गर्ने संवैधानिक प्रणाली स्थापना गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्यो”।
नोबेल कमिटी अध्यक्षले उक्त पुरस्कारले ट्युनिसियामा लोकतन्त्रको रक्षा गर्न मद्दत गर्ने तथा मध्यपूर्व, उत्तरी अफ्रिका र बांकी विश्वमा शान्ति र लोकतन्त्रलाई प्रवर्द्धनका लागि प्रयास गर्न खोज्नेहरुलाई प्रोत्साहन हुने बताइन्।






















