पुटिनद्वारा सिरियामा हवाई आक्रमणको बचाउ

सिरियामा जारी रुसी सेनाको हवाई आक्रमणको विरोधमा प्रदर्शनहरु हुँदै आएका छन्
तस्बिरको क्याप्शन, सिरियामा जारी रुसी सेनाको हवाई आक्रमणको विरोधमा प्रदर्शनहरु हुँदै आएका छन्
Published

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सिरियामा आफ्नो मुलुकले गरिरहेको हवाई कारवाहीको सशक्त रुपमा बचाउ गरेका छन्।

सैन्य कारवाहीको उद्देश्य सिरियाको वैधानिक संस्थालाई स्थिर बनाउन र राजनीतिक सम्झौताको वातावरण बनाउने भएको उनले बताए।

रुसी सरकारी टेलिभिजनसँगको एउटा अन्तरवार्तामा पुटिनले सिरियाली राष्ट्रपति बशर अल बसादलाई रुसले नसघाए “सिरियामाथि आतंकवादीहरुले कब्जा जमाउन सक्ने” खतरा रहेको र उनीहरु रुसी भूमिमा प्रवेश गर्न सक्ने दाबी गरे।

इस्लामिक स्टेट लडाकुहरुलाई नभई सिरियाका मध्यमार्गी विपक्षीहरुलाई रुसले निशाना बनाएको आरोपको उनले खण्डन गरे।

ठेगाना

पुटिनले आफ्नै सैन्य गतिविधिमा संलग्न भई इस्लामिक स्टेटका ठेगाना र हतियारबारे रुसलाई जानकारी गराउन पश्चिमा मुलुकहरुलाई आग्रह समेत गरे।

उनले भने, “यदि उनीहरुलाई राम्ररी थाहा छ र आतंकवादविरुद्ध लड्न चाहन्छन् भने हामीलाई आतंकवादीहरु लुकिरहेको वास्तविक ठाउँ बताउनुस्, उनीहरुको हतियार भण्डार र कमाण्ड स्थल बताउनुस्।”

अमेरिका लगायतका पश्चिमा मुलुकहरुले रुसी हवाई आक्रमणमा सिरियाका मध्यमार्गी विपक्षी समूहरुलाई निशाना बनाइएको बताउँदै आएका छन्।

अर्को प्रसंगमा पुटिनले सिरियालाई लिएर रुस र साउदी अरेबियाबीच रहेको मतभेद हटाउने प्रयासस्वरुप साउदी रक्षामन्त्रीसँग भेटवार्ता गरेका छन्।

समर्थन

लडाकुहरुविरुद्ध रुसले थप हवाई आक्रमण गरिरहेका बेला सोचीमा उनीहरुबीच भेटवार्ता भएको हो।

ती कारवाहीमध्ये केहीमा साउदी अरेबियाले पनि समर्थन गरेको छ।

भेटवार्तामा पुटिनले साउदी अरेबियाको चासोबारे आफूले बुझेका कुरा राखेको बताइएको छ।

साउदी अरेबियाका विदेशमन्त्रीले बशर अल असादले अन्ततः छोड्नुपर्ने बताए।

यद्यपि त्यो राजनीतिक संक्रमणको एउटा पाटो हुन सक्ने उनको भनाई थियो।