आप्रवासी स्वागत केन्द्रहरु सबल बनाउने सहमति

तस्बिर स्रोत, Reuters
ब्रसेल्समा भएको युरोपेली संघ (इयु)का नेताहरुको आपतकालीन सम्मेलनमा आप्रवासी स्वागत केन्द्रहरुमा थप एक लाख खाली ठाउँहरु बनाउने सहमति भएको छ।
सो बैठमा ११ इयु सदस्य र तीन गैरइयु सदस्य देशका सरकार प्रमुखले आप्रवासीहरुको बाक्लिदो भीडलाई कसरी व्यवस्थापन गर्ने भनेर छलफल गरेका थिए।
ग्रीसमा गत साता प्रत्येक दिन ९ हजार शरणार्थीहरु आइपुगेका थिए।
नयाँ सहमति अनुसार ग्रीसले दैनिक ३० हजार आप्रवासी धान्न सक्ने गरी स्वागत कक्षहरु बनाउनेछ।
व्यवस्था

तस्बिर स्रोत, AP
त्यस्तै राष्ट्रसंघीय शरणार्थी नियोगले २० हजार शरणार्थी अट्ने व्यवस्था गर्नेछ।
सो नियोगले बाल्कन देशहरुमा ५० हजार खाली ठाउँहरुको व्यवस्था गर्ने भनिएको छ।
जर्मनी र स्क्यान्डेनेभियन देशहरु जाने आप्रवासीहरु बाल्कन देशहरुको बाटो यात्रा गर्ने गर्छन्।
सहमति जुटाउने क्रममा ब्रसेल्समा इयु र बाल्कन देशका प्रतिनिधिहरुबीच आप्रवासी व्यवस्थापनका उपायमाथि छलफलका क्रममा चर्काचर्की भएको थियो।
जिम्मा
युरोपेली आयोगका प्रमुख जाँ क्लोड युंकरले अस्तव्यस्त अवस्थामा बाल्कन राज्यहरुले आप्रवासीहरुलाई छिमेकी मुलुकहरुको जिम्मा लगाउन नहुने बताए।
उनले आप्रवासीहरुबारे सहमति नभए ती मुलुकहरुले कतिपय परिवारहरु चिसा बाल्कन नदीहरुमा पीडादायी ढंगले ज्यान गुमाइरहेको देख्नुपर्ने जनाए।
स्लोभेनियाका प्रधानमन्त्रीले कडा कदम नचाले युरोपेली संघ विभाजित हुन सक्ने चेतावनी दिए।
जर्मन चान्सलर एंगेला मर्केलले टर्कीको सहभागिता बिना समस्याको समाधान निस्किन नसक्ने बताइन।
उक्त बैठकमा टर्की चाहिँ सहभागी थिएन।





















