चीन र ताइवानका नेताको सिंगापुरमा भेटघाट हुने

तस्बिर स्रोत, AP
चीन र ताइवानका राष्ट्रपतिहरुबीच इतिहासमा पहिलोपटक भेटवार्ता हुने भएको छ।
चिनिया नेता सि जिङ पिङ र ताइवानी नेता मा यिङ जियाउबीच सिंगापुरमा शनिबार सिंगापुरमा ऐतिहासिक भेटवार्ता हुने चिनले पुष्टि गरेको छ।
दुवै मुलुकले ताइवान क्षेत्रमा शान्ति प्रबर्द्धन गर्न भेट गर्न लागेको बताएका छन् तर ताइवानले कुनै सन्धी संझौतामा हस्ताक्षर नहुने जनाएको छ।
राष्ट्रपति मा को कार्यकलमा चीनसँगको सम्बन्धमा सुधार आएको छ र उनको केएमटी पार्टी चीनमुखी मानिन्छ।
किन भेटवार्ता?
ताइपेइबाट बीबीसी संवाददाता सिन्डी सुइ भन्छिन्- ताइवानमा राष्ट्रपतीय निर्वाचन हुने तीन महिना अघि चिनले किन भेटवार्ताको स्विकृति दियो प्रष्ट भएको छैन।
ताइवानमा प्रारम्भिक मत सर्वेक्षणले वर्तमान राष्ट्रपतिले नभै स्वतन्त्रता पक्षधर उम्मेदवार छा इङ वेन अगाडि देखाएका छन्।
राष्ट्रपति मा को सात वर्ष लामो कार्यकालमा ताइवानसँगको सुधारिएको सम्बन्धमा चीनले खतरा देखेर पनि यो भेटवार्ता तय भएको हुन सक्छ।
यद्यपी चीनले ताइवानको चुनावमा संलग्न देखाउने गरेको छैन।
सन १९४९ मा चिनिया गृहयुद्ध अन्त्य भए यता ताइवानमा स्वशासन छ।
तर बेइजिङले यो टापुलाई छुट्टिएर गएको भूभागका रुपमा हेर्छ र कुनै दिन मेनल्याण्ड चीनमै मिल्ने ठान्छ।





















