‘रुसी विमान दुर्घटना विष्फोटक पदार्थका कारण’

इजिप्टका अधिकारीहरुले ककपीट भ्वाइस रिकर्डर नराम्ररी क्षतिग्रस्त भएको बताएका छन्
तस्बिरको क्याप्शन, इजिप्टका अधिकारीहरुले ककपीट भ्वाइस रिकर्डर नराम्ररी क्षतिग्रस्त भएको बताएका छन्
Published

अमेरिकी र ब्रिटिश अधिकारीहरुले गुप्तचर निष्कर्षका अनुसार इजिप्टमा शनिबार रुसी यात्रु विमान विष्फोटक पदार्थका कारण दुर्घटनामा परेको हुन सक्ने बताएका छन्।

यद्यपि औपचारिक निचोडमा पुग्न बाँकी रहेको उनीहरुले जनाएका छन्।

यसअघि ब्रिटेनले इजिप्टको शर्म एल-शेखबाट हुने आफ्ना सबै उडानहरु रद्ध गरिएको घोषणा गरिसकेको छ।

सोही शहरबाट उडेको रुसी विमान दुर्घटनाग्रस्त भएको थियो।

निष्कर्ष

विमानलाई आफूहरुले खसालेको भनी इस्लामिक स्टेट लडाकु समूहले गरेको दाबी इजिप्टले अस्वीकार गरेको छ।

रुसी विज्ञहरुले तत्काल कुनै निष्कर्षमा पुग्नु हतार हुने बताएका छन्।

यसैबीच इजिप्टका अधिकारीहरुले बुधबार दुर्घटनाग्रस्त रुसी विमानको ककपीट भ्वाइस रिकर्डर नराम्ररी क्षतिग्रस्त भएको बताएका थिए।

यद्यपि त्यहाँका नागरिक उड्ययनमन्त्री मोहम्मद होसाम कमालले त्यसबाट उडानसम्बन्धी विवरणहरु प्राप्त गर्न सफल भएको र विश्लेषणका निम्ति तयार रहेको बताए।

संभावना

विमान दुर्घटनामा ज्यान गुमाउनेहरुमा अधिकांश रुसी नागरिक थिए
तस्बिरको क्याप्शन, विमान दुर्घटनामा ज्यान गुमाउनेहरुमा अधिकांश रुसी नागरिक थिए

शर्म एल-शेखबाट शनिबार पिटर्सबर्गका लागि उडेको रुसी यात्रु विमान २३ मिनेटपछि साइनाइ प्रायद्वीपमा दुर्घटनाग्रस्त भएको थियो।

दुर्घटनामा परी त्यसमा सवार सबै दुई सय २४ जनाको ज्यान गएको थियो।

त्यसमध्ये अधिकांश रुसी नागरिक थिए।

बुधबार अबेर आपतकालीन अवस्था संबोधनसम्बन्धी एउटा सरकारी समितिको बैठकपछि ब्रिटिश विदेशमन्त्री फिलिप हामण्डले पत्रकारहरुलाई भने, “हामीले के निष्कर्ष निकालेका छौँ भने विमानमा राखिएको विष्फोटक पदार्थका कारण दुर्घटना भएको ठूलो संभावना छ।”

अमेरिकी अधिकारीहरुले बमको प्रयोग गरिएको हुन सक्ने बताएपनि त्यो अन्तिम निष्कर्ष नभएको जनाएका छन्।