भारतको व्यवहार अमानवीय: प्रधानमन्त्री ओली

तस्बिर स्रोत, Ram Sarraf
प्रधानमन्त्री केपी ओलीले हाल भारतले नेपाललाई गरिरहेको व्यवहार लडाइँका बेला युद्धबन्दीलाई पनि नगरिने अमानवीय प्रकृतिको भएको भन्दै आक्रोश व्यक्त गरेका छन्।
नेपाल पत्रकार महासंघका प्रतिनिधिहरुसँगको भेटमा ओलीले भारतको नाम त लिएनन् तर पटकपटक छिमेकी भन्दै उसको रवैयाको कडा आलोचना गरे।
तर भारतको व्यवहारले नेपालीहरुको आँखा खोलिदिएको बताउँदै अब नेपालीहरु आफ्नै खुट्टामा उभिनुपर्नेमा उनले जोड दिए।
आक्रोश
प्रधानमन्त्री केपी ओली शुक्रबार पत्रकार महासंघका प्रतिनिधिहरुसँग अलि भावुक रुपमा प्रस्तुत भए जस्तो सुनिन्थ्यो।
अघोषित नाकाबन्दी आफ्नो पालामा मात्र नभइ यसअघिको सरकारदेखि नै शुरु भएको प्रसंगबाट कुरा थालेका प्रधानमन्त्री ओलीले भूकम्पपछिको अवस्था चित्रण गर्दै संविधानप्रति छिमेकीको असन्तुष्टिप्रति चर्को आक्रोश पोखेका थिए।
देशको वर्तमान परिस्थितिबारे करीब आधा घन्टा आफ्ना भनाइ राखेका ओलीले भूकम्पपछिको असहज परिस्थितिमाझ भारतले देखाएको व्यवहार अमानवीय भएको बताए।
उनले भने, "दुईवटा पक्षका बीचमा लडाईं भयो भने जित्नेले हार्नेलाई गिरफ्तार ग-यो भने थुनामा पनि खान दिएर राख्छ। मित्रलाई दुख परेको बेला, घाइते भएको बेला खान नदिएर घाँटी अठ्याउने खालको व्यवहार यस्तो आश्चर्यजनक मित्रताको हामीले नयाँ परिभाषा खोज्नुपर्ने भएको छ।"
प्रश्न
उनले १२ बुंदे यताको नेपालको राजनीतिक प्रक्रियामा सहजीकरण गरेको भारतका एक प्रतिनिधि स्वयंले जिनिभामा राष्ट्रसंघीय मानवअधिकार परिषदमा द्वन्द्वकालीन मुद्दा उठाएको भन्दै आक्रोश पोखे।
नेपालको मानवअधिकार अवस्थाको समीक्षा गर्न गत बुधबार बसेको परिषद् बैठकमा भारतीय प्रतिनिधिले सत्यनिरुपण तथा मेलमिलाप आयोगबाट दश वर्ष लामो सशस्त्र द्वन्द्वका दोषीमाथि कारवाही गर्न ध्यानाकर्षण गराएका थिए।
शान्ति प्रक्रिया शुरु भएयता पहिलोपटक भारतबाट आएको ठानिएको उक्त धारणाप्रति लक्षित गर्दै उनले भने, "जिनिभामा एकजना छिमेकी मित्रले पोहरपरारका कुरा गरेर यहाँ धम्क्याउने हामीले भनेको मानिनस् भने देखाइदिन्छु भन्ने उहाँ गएर पहिला हिंसा मच्याउनेलाई कारवाही भएन भन्ने। शान्ति प्रक्रियाको जानकारी भएन उहाँहरुलाई। यसप्रकारको निहुँ खोजाइ उपयुक्त हुँदैन।"
सुरक्षाको कारण देखाउँदै भारतले इन्धन सहज रुपमा नपठाएको विषयलाई उठाउँदै गोलभेडालगायत तरकारी र अन्य बिग्रने नासिने खाद्यान्न पठाउन अवरोध नहुने तर इन्धन पठाउन चाहिँ किन अवरोध हुने? भनि प्रश्न गरे।
कठिन
तर यो कठिन परिस्थितिले नेपालीहरुको आँखा खोलिदिएको उनले बताए।
"नेपाल र नेपालीको आँखा खुल्दैन भने आँखा च्यातेर खोलिदिए हाम्रा साथीभाइहरुले। अब पनि नखोलेर हुँदैन। उनीहरुले हाम्रो स्थिति देखाइदिएपछि नेपाल त्यसलाई महसुस गरेर नै अघि बढ्छ।"
अब सारा प्रतिकूलता झेलेर नेपाललाई नयाँ बाटोमा लैजाने प्रतिबद्धता जनाउँदै ओलीले त्यसकामको अगुवाइ आफूले गर्ने उल्लेख गरे।
नयाँ संविधानप्रति भारतले असन्तुष्टि जनाएको भन्ने टिप्पणी आम रुपमा आइरहेका बेला ओलीले नेपालीले बनाएको संविधानप्रति कुनै अर्को मुलुकले टाउको दुखाउन नपर्ने पनि बताएका थिए।






















